कालेबुङ, 26 अगस्तः पत्नीको हत्यापछि पतिद्वारा आत्महत्याको कोशिश गरेको बीभत्स घटना प्रकाशमा आएको छ।
यो घटना कालेबुङ खण्ड-1 अन्तर्गत निम्बोङ ग्राम पञ्चायतको दोस्रो दलपचन्दस्थित कमेरे गाउँमा भएको हो।
हत्यारोपी पतिलाई गम्भीर अवस्थामा उपचारका लागि कालेबुङ जिल्ला अस्पताल ल्याइँदैछ।
कालेबुङ पुलिसका अनुसार 40 वर्षीय पछ्यो लेप्चाले आज बिहान करिब 3 बजे आफ्नी पत्नी सन्तु माया राई (32)-को जघन्य हत्या गरेका हुन्।
घटनाको अनुसन्धान गर्न पुलिस दोस्रो दलपचन्दको कमेरे गाउँ पुगेको छ। धारिलो हतियारले प्रहार गरी लेप्चाले आफ्नी पत्नीको हत्या गरेको र त्यसै हतियारले आफ्नो गला रेटेर ती व्यक्तिले आत्महत्याको कोशिश गरेको पुलिस सूत्रले बताएको छ। उनलाई गम्भीर अवस्थामा आजै बिहान कालेबुङ जिल्ला अस्पतालमा पठाइएको छ।
पत्नीको हत्या गर्नमा प्रयोग गरिएको हतियार पनि पुलिसले बरामद गरेको छ।
पुलिसले शवलाई पोस्टमर्टमका लागि कालेबुङ जिल्ला अस्पताल पठाइएको छ। हत्याको कारण खुट्याउन पुलिसले अनुसन्धान गरिरहेको छ।