कालेबुङ, 26 अगस्तः कालेबुङ आज बिहान पुनः अर्को हत्याको घटना प्रकाशमा आएको छ।
कालेबुङ पुलिसका अनुसार कालेबुङ अप्पर 9 माइल क्षेत्रमा नाति शुभम राईले आफ्ना बाजे मणिकुमार राई (72)-को हत्या गरेका छन्।
यो घटना आज बिहान करिब 5:30 बजे घटेको बताइएको छ। हत्यारोपी नातिलाई पुलिसले पक्राउ गरेको छ। बाजेको हत्या गरेपछि शुभम पलङमै बसिरहेका थिए।
जानकारीका अनुसार सेरामिकका बटुका आदिले शिरमा प्रहार गरी ती नातिले आफ्ना बाजेको निर्मम हत्या गरेका हुन्।
पारिवारिक र स्थानीय सूत्रका हत्याका आरोपी 24 वर्षीय नाति केही वर्षयता मानसिक रूपमा बिरामी थिए। यसभन्दा अघि पनि शुभमले आफ्ना बाजेलाई पटक पटक प्रताड़ित गरेको स्थानीय मानिसहरूको भनाइ छ।
जानकारीका अनुसार उक्त घरमा बाजे-बोजू र दुई नाति गरी चारजना बस्दै आएका थिए। तर, आज घटनाको समय आज सानो नाति घरमा थिएनन्। उनी कामविशेषले बाहिर गएका थिए।
कालेबुङ पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ। यस घटनाले क्षेत्रमा सनसनी फैलिएको छ। प्राप्त जानकारीका अनुसार हत्यारोपी नाति शुभम राई मृतकका ठूलो छोरो अर्पण राईका ठूलो छोरो हुन्।
अर्पण राई र उनका परिवार भने छुट्टिएर अन्यत्रै बस्दै आएका छन्। उल्लेखनीय छ, आजै बिहान कालेबुङ खण्ड-1 अन्तर्गत निम्बोङ ग्राम पञ्चायतको दोस्रो दलपचन्दस्थित कमेरे गाउँमा पनि पत्नीको हत्या गरी पतिले आत्महत्या गरेको बीभत्स घटना प्रकाशमा आएको थियो।