कालेबुङ, 26 अगस्तः आउँदो 2021-को बङ्गाल विधानसभा चुनाउलाई आफूहरूले उस्तो नजिकबाट नहेरे पनि राजनैतिक दल भएको नाताले बिस्तारै यसका लागि रणनीति तयार पार्ने कार्य गरिरहेको गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विनय तामाङले आज बताए।
आज (बुधबार) कालेबुङमा आउँदो 2021-को चुनाउ विषय लिएर दलको रणनीति एवं गतिविधिबारे पत्रकारहरूले सोधेको प्रश्नको जवाबमा उनले भने, “दार्जीलिङ पहाड़को विधानसभा आसनको सङ्ख्या बढ़ोत्तरी गर्ने विषयमा पनि गम्भीरतासित पहल गरिरहेको छ।’’
विनयका अनुसार यस विषय लिएर केही दिनअघि मिरिक सौरेनीमा सम्पन्न भएको दलको सभाअवधि नै छलफल भएको थियो।
“दार्जीलिङ पहाड़सँग सम्बन्धित चारवटा मुद्दा राज्य सरकारसँग रहेको, एउटा मुद्दा केन्द्र सरकार अनि एउटा मुद्दा भारतको चुनाउ आयोगसँग सम्बन्धित छन्’’, उनले थपे, “राज्य सरकारसँग सम्बन्धित चारवटा मुद्दामध्ये अन्तिम मुद्दाको रूपमा दार्जीलिङ पहाड़को विधानसभा आसनको सङ्ख्या बढ़ाउनुपर्ने तथा दार्जीलिङ पहाड़लाई मात्र लिएर छुट्टै संसदीय क्षेत्र बनाउनुपर्ने विषयमा राज्य सरकारसमक्ष कुरा उठाउनेछौं।’’
यसरी नै अस्थायी कर्मचारी सङ्गठनका सदस्यहरूले स्थायीकरणको मागमा गरिरहेको आन्दोलनबारे बोल्दै उनले अस्थायी कर्मचारीहरूको समस्या दागोपापको समयदेखि नै रहेको तथा आफूहरू सत्तामा आएपछि अस्थायी कर्मचारीहरूको मासिक वेतनमा धेरै बढ़ोत्तरी भएको जनाए।
अहिले अस्थायी कर्मचारीहरूले आफ्नो मागमा धरना प्रदर्शन गरिरहेको तथा अस्थायी कर्मचारी सङ्गठन दलको भ्रातृ सङ्गठन रहेकोले उनी सङ्गठनको साथमा रहेको पनि विनयले बताए।
राज्य सरकारले सब-अर्डिनेट सेलेक्शन बोर्डको जिम्मेवारी चाँड़ो दिइए, उक्त समस्याको समाधान हुने बताउँदै विनय तामाङले यस विषयमा राज्य सरकारसँग कुराकानी गरिरहेको पनि जनाए।
यसैबीच, आज विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाले दार्जीलिङमा एक सभाको आयोजन गरी पार्टीलाई सङ्गठित बनाउने विषयमाथि चर्चा-परिचर्चा गरेको गोजमुमो दार्जीलिङ महकुमा समिति अध्यक्ष आलोक कान्तमणि थुलुङले बताए।