कालेबुङ, 27 अगस्तः बुधबार राति केही घण्टा परेको मुसलधारे वर्षाका कारण 29 माइलमा गएको भलपैह्रोले क्षेत्रका चारवटा घर र एउटा चर्चलाई क्षति पुऱ्याएको छ।
स्थानीयवासी टेकबहादुर छेत्री, खड़्गबहादुर दमाई, ध्रुव छेत्री र विजय राईका घरलाई क्षति पुगेको छ। उनीहरूका घरभित्रका सबै समान भलपैह्रोले पुरेको छ।
रातिको घटना भएकोले जसोतसो उनीहरूले भागेर आ-आफ्नो ज्यान बचाए तापनि घरभित्रका एउटै सामान निकाल्न पाएनन्। यसैगरी भलपैह्रोले पुरिएर टेकबहादुर छेत्रीका दुईवटा दुधालु गाई मरेका छन्।
यी चारवटा घरबाहेक भलपैह्रोले बीसीआई चर्चलाई क्षति पुगेको छ। यसका साथै त्यहाँ रहेका अन्य घरहरूलाई पनि भलपैह्रोले जोखिममा पारेको छ। किनभने केही ठूलो परेलगत्तै राष्ट्रिय राजमार्गको माथिबाट भलपैह्रो आउने गर्छ। माथिबाट आउने भलपैह्रोको यो समस्या नयाँ भने होइन। तर यसपटक भने भलपैह्रो सड़कमा थुप्रिएर हाइवेमा यातायात मात्र बाधित बनेको छैन, तर राजमार्ग मुन्तिर बसोबास गर्दै आइरहेका स्थानीय मानिसहरू पनि उठिबास लाग्ने खतरा बढ़ाएको छ।
यसैबीच, राष्ट्रिय राजमार्गमा थुप्रिएको भलपैह्रोलाई विभागले सोहोरेर त्यहीं सड़कमुनि फ्याँक्ने गरेकाले पनि आज आफूहरू उठिबास लाग्ने स्थिति आएको स्थानीय मानिसहरूको भनाइ छ। यसो नगर्नका लागि विभागलाई पटक पटक अनुरोध गर्दा पनि नसुनेको उनीहरूको गुनासो छ।
उल्लेखनीय छ, 29 माइलमा रहेको झोड़ा केही वर्षदेखि राष्ट्रिय राजमार्गका लागि गाढ़े घाउ बनेको छ। अलिकति ठूलो पानी पऱ्यो कि यो झोड़ा बनिहाल्छ। यो झोड़ा बढ़्नु भनेको माथिमाथि भलपैह्रो आएर सड़कमा थुप्रिनु हो। यातायात बाधित बन्नु हो।
हिजो राति परेको पानीका कारण पनि यो झोड़ा बढ़्दा माथिबाट ठूलो भलपैह्रो आएर सड़कमा थुप्रिएको थियो। भलपैह्रोले सड़क किनारमा रहेको एउटा मालवाहक वाहनलाई समेत पुरेको छ। साथै आज रातिदेखि नै हाइवेमा यातायात बन्द भएको छ।