कालेबुङ, 28 अगस्तः कालेबुङ खण्ड-1 को समालबुङ ग्राम पञ्चायत अधीनस्थ लोअर पाबोङमा आज बिहानै भएको अग्निकाण्ड एउटा घर जलेर खरानी भएको छ।
जानकारीका अनुसार आज बिहान करिब 9:30 बजी अचानक आगलागी हुँदा स्थानीयवासी विक्रम रसाइलीको घर जलेर खरानी भएको हो।
जानकारीका अनुसार जतिबेला यो घटना घट्यो, त्यसबेला परिवारका एकैजना सदस्य पनि घरमा थिएनन्। उनीहरू अलैंची टिप्नका लागि बारी गएका थिए।
यसैले पनि घरभित्रका एउटै सामान निकाल्न नपाइएको पीड़ित परिवारले बताएका छन्। कागज-पत्र, पैसा रुपियाँ र गरगहना तथा अन्य सबै सामान जलेर खरानी भएको छ।
अहिले पीड़ित परिवारसँग उनीहरूले लगाएको लुगाबाहेक केही बचाएको छैन। सट् सर्किटका कारण आगो लागेको बताइएको छ।
घटनाबारे थाह पाएपछि गाउँलेहरू हतार हतार जुटेर आगो निभाउन प्रयास गरे तापनि त्यसबेलासम्म आगोले उग्र रूप लिइसकेको थियो। पीड़ित विक्रम रसाइलीको दुई तले मूल घर र भान्सा घर दुवै जलेर खरानी भएका छन्।