भाजपाको पार्टी विस्तार कार्यक्रमले विमलपन्थी मोर्चा असन्तुष्ट

0
1060

दार्जीलिङ, 28 अगस्तः सदस्यता अभियानलाई अघि सारेर भारतीय जनता पार्टी (भाजपा )-ले दार्जीलिङ संसदीय क्षेत्रमा पार्टी विस्तार शुरू गरेपछि विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) असन्तुष्ट देखिएको छ। साथै यो असन्तुष्टिलाई आज आधिकारिक रूपमा सार्वजनिक गरेको छ।

विमलपन्थी मोर्चाको असन्तुष्टि विशेषगरी सदस्यता अभियानमा सांसद राजु बिष्टको सक्रियतालाई लिएर पनि हो।

यसैगरी अन्य कुराहरूमा समय खर्च नगरेर 11 जातगोष्ठीलाई  जनजातिको मान्यता प्रदान र गोर्खाहरूको स्थायी राजनीतिक समाधान गर्नुमा सांसदले ध्यान दिनुपर्ने रोशन गिरीले बताएका छन्।

भाजपाले सङ्कल्प-पत्रमा वाचा गरेका यी दुई मुद्दालगायत विस्थापित अवस्थामा रहेका युवाहरूलाई चाँड़ोभन्दा चाँड़ो आ-आफ्नो घर फर्काउने अभियानमा सांसद दिनुपर्ने उनले सुझाएका छन्।

गिरीले आज एक प्रेसविज्ञप्ति जारी गरी सदस्यता अभियान भाजपाको पूर्वघोषित कार्यक्रम हो कि सांसदको आफ्नै कार्यक्रम भन्ने प्रश्न पनि गरेका छन्।

‘आज हाम्रा शीर्ष नेतृत्वहरू विस्थापित जीवन यापन गर्न बाध्य छन्। यसैको फाइदा उठाएर हो या अन्य कारणले गर्दा हो अहिले आएर भाजपा पार्टी दार्जीलिङ पहाड़,. तराई अनि डुवर्समा भाजपाले सदस्यता अभियान शुरू गर्ने घोषणा गरेको छ। हाम्रा सांसद पनि यस अभियानमा धेरै उत्साहपूर्वक सहभागी बनेका छन्, जसले गर्दा हामीलाई धेरै दुःख लागेको छ’, गिरीले भनेका छन्, ‘हामीले वर्तमान सांसद राजु बिष्टलाई विशेष भाजपाको सङ्कल्प-पत्रमा उल्लेख गरिएका दुईवटा मुद्दा क्रमैले छुटेका 11 जातगोष्ठीलाई जनजातिको मान्यता प्रदान गर्नु र गोर्खाहरूको स्थायी राजनीतिक समाधान गर्नका लागि आफ्नो क्षेत्रबाट भारी मतले विजयी बनाएर संसदमा पठाएका हौं। यसर्थ सांसदले आफ्नो ऊर्जा अन्य कुराहरूमा खर्च नगरेर केवल सङ्कल्प-पत्रमा उल्लिखित ती दुईवटा मुद्दालगायत  विस्थापित अवस्थामा रहेका युवाहरूलाई चाँड़ोभन्दा चाँड़ो आ-आफ्नो घर फर्काउने अभियानमा ध्यान दिने सुझाउ दिँदछौँ।’

यसैगरी गिरीले गोर्खा जनमुक्ति मोर्चा (अहिले विमलपन्थी खेमा) र भाजपाको गठबन्धन एकदशकभन्दा पुरानो रहेको र गठबन्धनलाई धर्मलाई आफ्नो पार्टीले इमानदारीपूर्वक पालन गर्दै आएको पनि बताएका छन्।

उनका अनुसार 2009 देखि 2019 सम्मै भाजपालाई दार्जीलिङ लोकसभा सिटबाट विजयी बनाउनमा गोर्खा जनमुक्ति मोर्चाले अहम् भूमिका निर्वाह गरेको थियो।

तरै पनि  विगतमा भाजपाका दुई सासंद जसवन्त सिंह र एसएस अहलुवालियाले दार्जीलिङ संसदीय क्षेत्रमा पार्टीको विस्तारको काम पटक्कै गरेनन्।

‘आज आएर भाजपाका कतिपय नेतृत्व गोर्खा जनमुक्ति मोर्चासँगको गठबन्धनलाई अवहेलना गर्न खोजिरहेको हामीले महसुस गरेका छौँ’, विमलपन्थी मोर्चाका महासचिव रोशन गिरीले भनेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here