दार्जीलिङ, 28 अगस्त: भिजन दार्जीलिङ-मिशन दार्जीलिङ परियोजनालाई सफल बनाउने मूल उद्देश्य राखेर दार्जीलिङमा आउँदो 6 सेप्टेम्बरको दिन दार्जीलिङ नगरनिगम माग कमिटीको गठन गरिने भएको छ।
यसै विषयलाई लिएर आज यहाँको एक होटलमा गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङको विशेष उपस्थितिमा एक सभा भयो।
यस सभापछि पत्रकारहरूसित कुराकानी गर्दै तामाङले भने, “गोर्खा जनमुक्ति मोर्चाले गत केही दिनअघि मात्रै एक सभाको आयोजन गरी 6 वटा विषयमाथि कार्य गर्ने प्रस्ताव ग्रहण गरेको थियो, जसमध्ये एउटा दार्जीलिङ नगरपालिकालाई महानगरपालिका वा नगरनिगम बनाउने माग हो। किनभने, हामी दार्जीलिङवासी जनताले नै दार्जीलिङलाई साँचो रूपमा पहाड़की रानी बनाउनुपर्छ।’’
उनका अनुसार दार्जीलिङलाई शब्दमा मात्रै होइन, साँचोरूपमा पहाड़की रानी बनाउने आवश्यकता छ। किनभने, यसै विषय लिएर आज दार्जीलिङ शहरी क्षेत्रका बुद्धिजीवी अनि दार्जीलिङबारे गम्भीर बनेर सोच्ने मानिसहरूलाई लिएर एक सभाको आयोजना गरिएको हो।
उल्लेखनीय छ, दार्जीलिङ पहाड़को बढ्दो जनसङ्ख्या र शहरी जनताले भोग्न परिरहेका विभिन्न समस्यालाई ध्यानमा राखेर दार्जीलिङ नगरपालिकालाई बढ़ोत्तरी गरेर महानगरपालिका बनाउनु समयको माग रहेको विनयपन्थी मोर्चाले बताउँदै आइरहेको छ।
यसका साथै शहरलाई सुन्दर, सुसज्जित अनि सुव्यवस्थित पार्न अनि यहाँका नागरिकहरूलाई सेवा प्रदान गर्ने लक्ष्यमा पुग्न गोजमुमो प्रतिबद्ध पन दावी गर्दै आइरहेको छ।
ज्ञात रहोस्, भारत स्वतन्त्र हुन धेरै अघि नै 1850-मा दार्जीलिङमा नगरपालिकाको स्थापना भएको हो।
2011-को जनगणनाअनुसार, दार्जीलिङ नगरपालिका क्षेत्रको जनसङ्ख्या 1,20,414 थियो।
दार्जीलिङ नगरपालिकाको इतिहास पनि खुबै चाखलाग्दो छ। 1994-मा गोरामुमोले राजनीतिक रूपमा यस नगरपालिकामा भाग लिएपछि वर्ष 2004-सम्म नै यसैको नेतृत्वमा दार्जीलिङ नगरपालिका सञ्चालन भएको थियो।
1994 र 1999-मा गोरामुमोद्वारा गठन गरिएको दार्जीलिङ नगरपालिका बोर्डमा दुइपल्ट नै तत्कालीन गोरामुमो नेता डीके प्रधान अध्यक्ष बनेका थिए।
उनकै नगरपालिका अध्यक्षकालमा दार्जीलिङ नगरपालिकालाई ‘डी’ श्रेणीबाट ‘ए’ श्रेणीमा बढ़ोत्तरी गराउने कार्य पनि भएको थियो।
यति मात्रै होइन, उनकै शासनकालमा दार्जीलिङ नगरपालिका क्षेत्रमा रहेका 26 वटा वार्डलाई बढ़ाएर 32 वटा वार्ड पनि बनाइएको थियो। तर त्यस समय उनको दार्जीलिङ नगरपालिकालाई महानगरपालिका बनाउने सपना अधुरै रहेको थियो।
प्रधानकै कार्यकालदेखि दार्जीलिङ नगरपालिकालाई महानगरपालिका बनाउने माग हुँदै आइरहेको छ।