दार्जीलिङ, 29 अगस्तः गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-का लगभग 4 हजार कर्मचारीले आउँदो 1 सेप्टेम्बरदेखि पेनडाउन हड़ताल शुरू गर्ने घोषणा गरेका छन्।
एकीकृत कर्मचारी सङ्गठनको अगुवाइमा शुरू गरिने यस पेनडाउन हड्तालको मूल कारण जीटीएमा कार्यरत पे-व्याण्ड कर्मचारीहरूको स्थायीकरणको माग हो।
जीटीएमा कार्यरत पे-व्याण्ड कर्मचारीहरूको स्थायीकरणको माग पूरा नभएको विरोधमा नै पछिल्लो 17 अगस्तदेखि जीटीए कर्मचारीहरूले धरना प्रदर्शन शुरू गरिरहेका छन्। तर, आजसम्म पनि उनीहरूका माग विषय लिएर जीटीए प्रशासनले कुनै ठोस पहल नगरेको कारण नै एकीकृत कर्मचारी सङ्गठनले आउँदो 1 सेप्टेम्बरदेखि पेनडाउन हड़ताल शुरू गर्ने घोषणा गरेको हो।
यसबारे जानकारी गराउँदै सङ्गठनका प्रवक्ता शेखर थापाले भने, “यस पेनडाउन अवधिभरि जीटीएका सम्पूर्ण कार्यालयहरू बन्द राखिनेछ।‘’
साथै छुट्टीका दिन कुनै कर्मचारी कार्यालयमा आएर काम गरेको थाह लागेमा ती कर्मचारीविरुद्ध कठोर कारबाही गरिने उनले बताए।
थापाका अनुसार यस पेनडाउनको समय जीटीएका मुख्य सचिव, सचिव साथै कार्यकारी अधिकारीहरूका कार्यालयहरूलाई भने खुल्ला राख्न दिइनेछ। तर, उनीहरूले पनि कर्मचारीहरूको स्थायीकरणका लागि ठोस पहल नगरे, उनीहरूका कार्यालयहरू पनि बन्द गरिनेछ।
यसअवधि जीटीएका इञ्जीनियरहरूले पनि पेनडाउन गर्ने भएको उनले बताए।
यदि यसले पनि कुनै काम हुननसके एकीकृत कर्मचारी सङ्गठनले भावी दिनमा पुल एण्ड ट्रान्सपोर्टका गाड़ीहरूको चलाचल पनि पूर्णरूपले बन्द गर्ने चेताउनी दिएको छ।
प्रवक्ता शेखर थापाले भने, “1988-मा दागोपाप (दार्जीलिङ गोर्खा पार्वत्य परिषद)-को स्थापना भएपछि दागोपापलाई ‘सी’ र ‘डी’ श्रेणीका कर्मचारीहरूको नियुक्ति गर्ने क्षमता प्रदान गरिएको थियो, तर दागोपापले आफ्नो कार्याकालभरि नै कसैलाई स्थायी गराउने कार्य गरेन। यद्यपि, सन् 1995-मा दागोपापले 60 जना कर्मचारीलाई स्थायी गराएको थियो। तर, त्यसपछि दापोपापमा कार्यरत् अस्थायी कर्मचारीहरूले स्थायीकरणको मागबारे चाप दिने कार्य गरिए पनि कहिले स्थायी गर्ने कार्य गरिएन। तर, 2008-मा भने प्रत्येक 6 महिनामा नवीकरण गर्नुपर्ने बाध्यता हटाइएको थियो।’’
उनले थपे, “त्यसपछि 2009-मा दागोपापका कर्मचारीहरूले अनशन बसेर 3,472 कर्मचारीलाई स्थायी गराउने दिशामा राज्य सरकारबाट एक अध्यादेश जारी गर्न लगाइएको थियो, तर दागोपापकै शीर्ष पदाधिकारीहरूको उदासीन नीतिको कारण त्यो कार्य पनि हुनसकेन। त्यसपछि सन् 2011-मा जीटीएमाथि त्रिपक्षीय सम्झौता भयो अनि जीटीएलाई ‘बी’, ‘सी’ र ‘डी’ श्रेणीका पदहरूमा कर्मचारी नियुक्त गर्नसक्ने क्षमता प्रदान गरेको थियो, तर जीटीएले पनि स्थायीकरणको दिशामा कुनै पहल गरेन।’’
यसैले पछिल्लो 15 अगस्तका दिन एकीकृत कर्मचारी सङ्गठनले जीटीएका शीर्ष अधिकारीहरूसित भेट गर्दा पनि सकारात्मक आश्वासन नपाएपछि धरना शुरू गरेको उनले बताए। तर यो धरनाले पनि जीटीए प्रशासनको ध्यान आकर्षित नभएपछि 1 सेप्टेम्बरदेखि पेनडाउन हड़ताल नै गर्ने भएको एकीकृत कर्मचारी सङ्गठनका प्रवक्ता शेखर थापाको भनाइ छ।