दार्जीलिङ, 30 अगस्तः भारतीय जनता पार्टीले दार्जीलिङ पहड़, तराई अनि डुवर्स क्षेत्रमा सङ्गठन विस्तार गरेकामा असन्तुष्टि व्यक्त विमलपन्थी गोजमुमोको समर्थनमा विनयपन्थी गोजमुमो अघि आएको छ।
यसैले विनय तामाङपन्थी गोजमुमो केन्द्रिय प्रवक्ता केशवराज पोख्रेलले एक विज्ञप्ति जारी गरी भनेका छन्, “दार्जीलिङ पहाड़, तराई अनि डुवर्सवासीहरूका दीर्घकालीन समस्यालाई निरीक्षण गरी सहानुभूतिपूर्वक समाधान गरिनेछ भनेर आफ्नो चुनावी सङ्कल्प-पत्रमा घोषणा गर्ने भारतीय जनता पार्टीले आफ्नो वचन पूरा गर्नुको सट्टा दार्जीलिङ पहाड़, तराई अनि डुवर्स क्षेत्रमा आफ्नो पार्टीको सदस्यता बढ़ाउने कार्य शुरू गरेको छ, जसको विरोधमा रोशन गिरीले जाहेर गरेको असन्तुष्टिलाई विनय तामाङपन्थी गोजमुमोले समर्थन गर्छ।’’
यसका साथै रोशन गिरीहरूले भाजपालाई ढिलै भए तापनि सही बुझेको बताउँदै बताउँदै पोख्रेलले भाजपा गोर्खाहरूप्रति रत्तिभर इमानदार नरहेको ठोकुवा गरेका छन्।
“दार्जीलिङ पहाड़, तराई अनि डुवर्सवासी जनताको भावनासित खेलेर भाजपाले हाम्रो क्षेत्रलाई पश्चिम बङ्गालमा छिर्ने दैलोको रूपमा मात्रै प्रयोग गरिरहेको छ। दार्जीलिङ पहाड़, तराई अनि डुवर्सलाई उक्साएर अशान्ति सृजना गरी बङ्गालमा छिर्ने भाजपाको योजना हो। यो कुरा बुझेर नै विनय तामाङपन्थी गोजमुमोले भाजपाको विरोध गरेको हो’’, विनयपन्थी मोर्चा प्रवक्ताले थप भनेका छन्, “यसैले हामीले भाजपा गोर्खाहरूप्रति इमानदार छैन भनेर बारम्बार भन्दै आएका हौं। अब रोशन गिरीहरूले पनि यो कुरा बुझ्नुपर्छ। भाजपाको राजनीतिक मायाजालमा परेर दार्जीलिङ पहाड़, तराई अनि डुवर्स क्षेत्रका मानिसहरूलाई भाजपालाई सांसद दिने भोटिङ मशिन मात्रै बनाउने षड़्यन्त्रमा नपरेको उचित हुनेछ। दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका सोझा अनि इमान्दार जनताको पक्षमा रोशन गिरीहरूलाई यस्तो सुझाउ दिन चाहन्छौं।’’
पोख्रेलका अनुसार भाजपा गोर्खाका लागि विषालु साँप मात्रै हो, जसलाई जति नै दूध दिए पनि आखिरमा विष नै उगेल्छ।
भाजपाले दार्जीलिङ पहाड़, तराई अनि डुवर्समा पार्टी विस्तार गरिरहेको विषयले नै यसलाई स्पष्ट पार्ने उनको भनाइ छ।
एउटा राष्ट्रिय राजनैतिक दल भएर पनि भाजपाले चुनाउमा जीत दिलाउने पहाड़का गठबन्धनका घटक दलहरूलाई परामर्शमा नलिई आफ्नो गठबन्धनमा रहेका दलहरूकै अस्तित्वलाई सङ्कटमा पार्दै सङ्गठन विस्तार गर्ने कार्य तीव्र पार्नु भनेको भाजपाले दूध पिलाउने गठबन्धन दलहरूको लागि विष उगेल्नु नै उनको ठहर हो।
“यो कुरा रोशन गिरीलगायत अन्य गठबन्धन दलहरूले पनि जतिसक्दो चाँड़ो बुझेको बेस हुनेछ। भाजपालाई अझै पनि विश्वास गर्नु भनेको दार्जीलिङ पहाड़, तराई अनि डुवर्सको भविष्य अझै पछिल्तिर धकेलिँदै जानु हो। यसैले भावनात्मक होइन, बौद्धिक रणनीति लिएर हामी अघि बढ़्नु आवश्यक छ। भाजपालाई अझै पनि विश्वास गर्नु भनेको पहाड़मा अझै धेर बेरोजगारी, अशिक्षा, अशान्ति, आर्थिक विकृति तथा थुप्रै समस्याहरू बढ़ाउँदै लानु हो’’, उनले भनेका छन्।
यसैले अब सतर्क, सबल, सफल दार्जीलिङ अनि तराई डुवर्स निर्माण गर्नका लागि एकजुट भएर बौद्धिक अनि समयोचित रणनीतिको साथमा राजनीति गर्नुपर्ने उनको भनाइ छ।
“अबको राजनीति नेताको महल बनाउने होइन, जनताको भविष्य उज्ज्वल बनाउने हुनपर्छ’’, पोख्रेलले भनेका छन्।