उसले झस्कायो

0
1095

-उदय थुलुङ

कार्यक्रम आयोजकले दिएको समयभन्दा अलिकति छिट्टो पुगेछौँ म र सुबेदार साब।

“बस्दै गरौँ न।” नमस्तेको पोजसितै बोलेर भर्खर खोल लाइसकेको सेलो ब्राण्ड प्लास्टिक चेयरपट्टि फेरि दाहिने हातले सङ्केत गरे आयोजक कार्यालयकै कर्मचारी भाइले।

“मिठ्ठो बजायो तौ गीत त।” चेयरमा बसिसकेर सुबेदार साबले भने। अहिले एड्रियन प्रधानले गाइरहेका थिए-“हिँड़्दा हिँड़्दै दोबाटोमा।”

“हैट अहिले होइन, भरै बजाउनु पर्थ्यौ यो गीत त।” भनेँ मैले।

दुई वर्ष अघि बनिएको कम्युनिटी हलको दुवै भित्ता फलामे फ्रेममा टाँसिएका ऐनाहरूले  घेरिएका कारण हलभित्र प्रशस्त उज्यालो पसेको छ। सुबेदार साबले हलको  भित्ता, सिलिङ, स्टेज, सिँड़ी सबैतिर आँखा डुलाएपछि मलाई भनिरहे, “त्यहाँ त्यस्तो हुनुपर्थ्यो; त्यो अलिक सानो भयो; त्यसको फिनिसिङ नै आएन; त्यो अग्लो भयो; त्यो रङमा त हुस्से परिहाल्छ……।”

मैले पनि हेरेँ उनको आँखालाई पछ्याउँदै पछ्याउँदै। हो, कोही त्यस्तै छन्। कोही त्यस्ता छैनन्। कारीगरले काम सकेपछि हरेक संरचना/सृजना पारखी उपभोक्ताहरूलाई छोड़िदिनु पर्छ नै। रोला बार्थले ‘लेखकको मृत्यु’ भनेको बेला पनि पाठक-उपभोक्ताहरू नै श्रेष्ठ भूमिकामा थिए। अब हल, कार्यक्रमको निम्ति भइसकेपछि उपयोगिताको अर्थलाई सुनियोजित गर्नु-नगर्नु कारीगरको काम होइन नै।

कम्मरमा एप्रोन बाँधेर क्याटरिङका भाइहरूले कार्यक्रम आयोजकहरूलाई रोक्दै अल्मलाउँदैछन्। हल्ला बस्दैछ चेयर तान्दै। एक एक गर्दै। हुलमा पनि।

दश बज्यो। आयोजक मण्डलीले दिएको आधिकारिक समय अहिले निक्कै सिरियस देखियो। गन्यमान्यहरू आउन थाले। समाजका  वरिष्ठहरू आए। खेल-सङ्गीत, चित्रकलाका स्थानीय विभूतिहरू आए। शिक्षाविद् र शिक्षणविद्हरू पनि आए।

कार्यालयका त सबै बिहानैदेखि व्यस्त देखिन्छन्।

“ऊ वहाँ पनि आउनु भयो।” सुबेदार साबले कति छिटो देख्नु भएछ। आफ्ना दुई समकालीनसित बीचमा सटिएर भित्र पस्न आँट्नु भएका उनलाई मैले पनि देखेँ।

सबैलाई नमस्ते गर्दै पसेका उनलाई  समकालीनहरूसितै अघिल्लो लहरमा पुऱ्याइयो।

‘कसलाई पर्खे हो’ सोच्दा सोच्दै दैलोमा देखापरे बोलाइएका एकजना नेता। अघि-पछिल्तिर हल्ला गरिरहेका चेयरहरू उहाँकै भीड़ रहेछ।

चकमन्न भएपछि, सञ्चालकले शुरू गरेर बोल्दै लगेको एउटा वाक्यको टुक्रासँगै सुबेदार साबले मलाई अलिकति कुइनाले हाने, “आम्ममा… चालिस वर्षमा रिटायर भा’को?”

सञ्चालक बोल्दै थिए “उहाँकै यो विदाई समारोहमा यहाँहरूलाई…. ” लामो भनिसकेर कार्यक्रमको औचित्य बुझाए।

क्रमशः क्रमशः औपचारिकताहरू भए। औपचारिकताहरूमा केन्द्रित कार्यक्रमहरूले समयलाई उचालिराख्नुपर्ने ओजन दिएको थियो।

वक्ताहरूलाई बोल्न लगाइयो। हरेक वक्ताले उनको गुणगान गरे। उनको कर्मनिष्ठता, पङ्च्युवलिटी, वचनबद्धता, मानवताले भरिएका हृदय, सच्चाचरित्र, सामाजिकता आदि आदिको सक्दो वर्णन गरे।

सबैले सबैभन्दा धेरै केन्द्र गरेर उनको इमानदारितामाथि बोले। “कञ्चनजङ्घा झैँ अटल, पवित्र सफा उहाँको इमानदारिता” भने एकजनाले त।

कतिले उनलाई लङ्गौटिया साथी भने; कतिले उनीसितको बाल्यकालको स्मरण गरे। कतिले पाठशालाको दलबाट सँगै फुटबल खेलेको कथा भने।

उनको सत्यवादिताको कुरा सुनेर यस्ता व्यक्तिको आफ्नो कर्मक्षेत्रबाट अवकाशग्रहण समाज- व्यवस्थामा एउटा अपुरणीय क्षति भए जस्तो महसुस सबैले गरे।

खादा-मालाले पुरिएका उनले बोल्न थालेपछि भवन सुनसान भयो। बीचबीचमा भवनभित्र स्वाँक स्वाँक आवाज आउँदा कसैले उनको विदाईमा चित्त दुखाइसकेको बोध हुँदैथ्यो। अरूका आँखाहरू पनि रसिएला झैँ भइसकेका थिए।

यो अवकाशको विदाई, फेयरवेल भन्ने क्षण साँच्चै हृदयविदारक हुन्छ। सम्झिँदा यहाँदेखि उता त, मान्छेलाई अब आफ्नै निम्ति बाँचिदिनुपर्ने बाध्यता र अनिवार्यता मात्रै हो।

हरदर हेर्दा फेयरवेल मान्छेलाई अब ‘तँ सक्किइस्’ भनेको हो कि जस्तो पनि लाग्छ। र त कतिले अवकाश लिएको महिना दिनभित्रै यो संसार छोड़्छन्। जानेरै जस्तो।

त्यो झण्डै झण्डै आर्द्र दिनको समाप्तिपछि सुबेदार साब र  म घरतिर लाग्यौँ। हामीसित ‘उनकै’ कार्यालयका सहकर्मी भाइसँगै बात मार्दै हिँड़िरहेको थियो। सुबेदार साबले भने, “साह्रै राम्रो मान्छे। साह्रै इमानदार पनि।”

उनीसित पनि रिटायर भएपछिको पाँचवर्ष लामो तीतोमीठो अनुभव छ।

त्यो भाइले मलाई हेऱ्यो र अलिकति मुस्कुरायो।

उसलाई हेरेर सोधेँ, “के भयो? हाँस्यौ पो त।”

“होइन, मनमा एउटा कुरा खेलिरा’छ”, उसले भन्यो।

“के?”, मैले भनेँ।

“आज दिनैभरि उनको इमानदारिताको चर्चा भयो। गर्नु पनि पर्ने हो कुरा। तर…”

“के तर?”

“यो सर्टिफिकेटमा पाँच वर्ष उमेर घटाएर सरकारी सेवामा बसिरहनेलाई चाहिँ इमानदार भन्छ कि बेइमान भन्छ सर?”

“कसले घटायो?”

“उनले”, उसले भनेपछि म झस्केँ र सुबेदार साबलाई हेरेँ।

उसले फेरि जोड़्यो, “आज दिनभरि बोल्नेहरूले बोलेको मलाई त भ्रमै मात्र बोलेको जस्तो लाग्यो।”

“त्यसो भा’त हामीले पनि भ्रमै मात्रै सुन्यौँ कि कसो सुबेदार साब?”, मैले पालैपालो हेरेँ।

त्यसपछि जोड़ले हाँस्यौँ। हाँसिपठायौँ। हाँस्दै अलिवर आइपुग्दा, बाटोको कुइनेटो देखेर त्यो भाइले भन्यो,

“एकछिन् सर, म बाहिर बसिहाल्छु।”

(प्रखर लेखक उदय थुलुङले जनसंवादका पाठकहरूका लागि ‘गफसफ’ शुरू गरेका छन्। यो गफसफ शृङ्खला प्रत्येक महिनाको पहिला साता प्रकाशित हुनेछ।)

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here