दार्जीलिङ, 4 सेप्टेम्बर: 2019-2020 को बोनस एकैपटकमा 20 प्रतिशतको दरले दिनुपर्ने मागलाई पुनः जोइण्ट फोरमले उठाएको छ।
यसका साथै फोरमले अम्बटे टी ग्रुप अधीनस्थ 14 वटा चियाबगानका सेवानिवृत्त श्रमिकहरूका ग्रेच्युटी शीघ्र भुक्तान गर्नुपर्ने, दार्जीलिङ पहाड़का कलेजभेल्ली, धोत्रे र पेशोक चियाबगानका सम्पूर्ण श्रमिकलाई फौलाइको राशि दिनुपर्ने, अचल अवस्थामा रहेका लङ्भ्यू र सिङ्ला चियाबगान शीघ्र खोल्नुपर्ने आदि माग लिएर जिल्ला प्रशासनलाई एक ज्ञापन दिएको छ।
यसबारे जानकारी गराउँदै फोरमका सदस्य एवं माकपा नेता समन पाठकले भने, “अम्बटे टी ग्रुप अधीनस्थ दार्जीलिङ पहाड़का 14 वटा चियाबगानका धेरैजना श्रमिक-कर्मचारी सेवानिवृत्त भएका छन्, तर उनीहरूलाई ग्रेच्युटीको राशि भुक्तान गरिएको छैन। जसका कारण ती चियाश्रमिकहरूले धेरै आर्थिक सङ्कटको सामना गर्न परिरहेका छन्।’’
यो समस्यालाई शीघ्र समाधान गर्नका लागि जिल्ला प्रशासनले हस्तक्षेप गर्नुपर्ने जोइण्ट फोरमको माग रहेको पाठकले बताए।
यसैगरी गोरामुमोको श्रमिक सङ्गठन हिमालयन प्लान्टेशन वर्कर्स युनियन (एचपीडब्ल्यूयू)-का महासचिव एसके लामा र क्रामाकपाको श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स चियाकमान मजदूर युनियन (दातडुचिमयु)-का सचिव सुनिल राईले एकै स्वर आधिकारिक रूपमा बन्द घोषित गरिएका तीन चियाबगान क्रमैले कलेजभेल्ली, धोत्रे र पेशोकका श्रमिकहरूलाई फौलाइको पैसा दिनुपर्ने माग दोहोऱ्याए।
उनका द्वयका अनुसार यी तीनवटै चियाबगान जतिबेला बन्द भयो, त्यसबेला काम चलिरहेको भए तापनि श्रमिक/कर्मचारीहरूले वेतन र अन्य सुविधाहरू पाएका थिएनन्।
“1 मई 2018-देखि यी चियाबगानहरूलाई आधिकारिकरूपमा बन्द भएको घोषणा गरियो। जसअनुसार, यी चियाबगानका श्रमिकहरूलाई मासिक 1,500 रुपियाँ फौलाइको राशि दिने छिनाफाना पनि भएको थियो। तर यी 3 वटा चियाबगानका मोठ 2,586 जना श्रमिकमध्ये केवल 295 जना श्रमिकले मात्रै गत केही महिनाअघि 25 महीनाको फौलाइको राशिस्वरूप 37,500 रुपियाँ पाउनसके’’, लामा र राईले संयुक्त रूपमा भने, “रहल श्रमिकहरूले अझैसम्म पनि एक पैसा पाएका छैनन्, यसैले यी चियाबगानका सम्पूर्ण श्रमिकलाई नै फौलाइको राशि भुक्तान गर्नुपर्ने जोइण्ट फोरमको माग छ।’’
यसरी नै बन्द पानीघट्टा चियाबगानका श्रमिकहरूले पाउँदै गरेको फौलाइको राशि पनि बन्द भएको जानकारी गराउँदै यस चियाबगानका श्रमिकहरूलाई पनि फौलाइको राशि दिनुपर्ने माग गरिएको उनीहरूले बताए।
अर्कोतिर, जाप नेता अमर लामाले यसपाली दार्जीलिङ पहाड़का चियाश्रमिकहरूलाई 20 प्रतिशतको दरले एकैपल्टमा बोनस भुक्तान गर्नुपर्ने अनि यसको बैठक दार्जीलिङमा नै हुनपर्ने माग गरे।
यसै विषय लिएर जोइण्ट फोरमले दार्जीलिङ टी एसोसिएशन (डीटीए)-लाई पत्र दिएको पनि लामाले जानकारी गराए।
एकदमै राम्रो पहल भएको छ जनसम्वादलाई यसरी सामाजीक संजालमा जनतासामु उतार्ने प्रयासले।