रामराज्य ल्याउने गोरामुमोको सङ्कल्प

0
1318

दार्जीलिङ, 5 सेप्टेम्बर: गोरामुमोले अर्को वर्ष 14 वर्षको वनबास पूरा गरेर रामराज्य ल्याउने सङ्कल्प गरेको छ।

“रामले जसरी 14 वर्ष वनबास पूरा गरेका थिए, त्यसरी नै गोरामुमोको 14 वर्षको वनबास अर्को वर्ष पूरा हुनेछ’’, गोरामुमो दार्जीलिङ शाखा अध्यक्ष अजय एड्वर्डले यो भने।

लप्चु-पेशोकको भ्रमणमा रहेका उनले आज एक कार्यक्रमलाई सम्बोधन गर्दै भने, “गोरामुमो 14 वर्षको वनबासमा छ, यो मियाद अर्को वर्ष 2021-मा पूरा भएपछि हामी रामराज्य ल्याउनेछौं।’’

स्मरण गराइन्छ, वर्ष 2007-मा गोर्खा जनमुक्ति मोर्चाको गठन भएपछि दार्जीलिङ पहाड़बाट गोरामुमोको अस्तित्व सङ्कटमा परेको थियो।

यति मात्रै होइन, गोरामुमोका संस्थापक अध्यक्ष सुवास घिसिङका साथै धेरैजना गोरामुमो नेता दार्जीलिङ पहाड़बाट पलायन बन्न बाध्य भएका थिए। फलस्वरूप गोरामुमो आफ्ना विभिन्न राजनीतिक कार्यक्रमहरू गर्नबाट पनि वञ्चित बनिरहेका थिए। तर, केही वर्षअघि गोरामुमो नेतृत्वहरू पुनः पहाड़ फर्केर पार्टीलाई पुनः सक्रिय बनाउन शुरू गरेका छन्।

गोरामुमोले पहाड़को सत्ता गुमाएको अर्को वर्ष 2021-मा पूरा 14 वर्ष पुग्नेछ।

यसैलाई केन्द्र गरेर पार्टी नेतृत्वहरूले पार्टीलाई अझै सशक्त बनाउने दिशामा ठोस पहल गरिरहेका छन्।

यसैबीच, एड्वर्डले भने, “गोरामुमो अध्यक्ष मन घिसिङ आफ्नो घरभित्रै बसेर आफ्नो कार्य सम्हालिरहेका छन्, उनको काम छुट्टै राज्य गोर्खाल्याण्डका लागि दिल्ली, कलकत्तासित सम्पर्क गर्ने हो र यो काम उनले पूर्ण इमानदारीसित पालन गरिरहेका छन्। र मैले उनको यस कार्यलाई अझै बलियो बनाउन युवाहरूलाई पार्टीमा सामेल गराउने कार्य गरिरहेको छु।’’

उनले थप भने, “मन घिसिङ र मैले आ-आफ्नो काम छुट्याएर गरिरहेका छौं। तर यस विषयलाई विपक्षी पार्टीहरूले राजनीतिकरण गर्ने प्रयास गरिरहेका छन्। तर अजय एड्वर्ड मन घिसिङकै पछि-पछि हिँड़िरहेको छ।’’

अजय एड्वर्डका अनुसार गोरामुमोको सपना छुट्टै राज्य गोर्खाल्याण्ड नै हो अनि यसैका लागि पार्टीले निरन्तर कार्य गरिरहेको छ। यसका लागि गत लोकसभा चुनाउ र दार्जीलिङ विधानसभाको उपचुनाउमा पार्टी अध्यक्ष मन घिसिङले दुश्मनसित पनि मिलेर काम गरेका थिए। किनभने, गोर्खाल्याण्ड कुनै एउटा पार्टीको मुद्दा होइन, यो सम्पूर्ण गोर्खा जाति र पार्टीहरूको हो।

यसैले गोर्खाल्याण्डका सबै एक भएर कार्य गर्नुपर्छ भन्ने सोच राखेर नै पार्टी अध्यक्ष मन घिसिङले आफ्नो कर्तव्य पालन गरिरहेको उनले बताए।

अर्कोतिर उनले गोरामुमोको नेतृत्वमा पहाड़को व्यवस्था आए नेता र ठेकादारमाझको गठबन्धनलाई पूर्णरूपले तोड्ने सङ्कल्प गरिएको बताए।

“हालसम्म दार्जीलिङ पहाड़मा नेता र ठेकादारहरूमाझ गठबन्धन रहेको कारण नै व्यापक भ्रष्टाचार भएको हो, जीटीएमा विगत केही वर्षमा लगभग 700 करोड़ रुपियाँ बराबरको आर्थिक राशि आएको थियो, तर त्यो पैसाले केही मानिसहरू मालामाल भए, गरीब गरीब नै रहे। तर, गोरामुमोले ठेकादार जन्माउने कार्य गर्नेछैन’’, गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष अजय एड्वर्डले थपे।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here