दार्जीलिङ, 7 सेप्टेम्बर: दार्जीलिङ पहाड़ आज पनि अचल रह्यो।
राज्य सरकारले 7, 11 र 12 सेप्टेम्बरका दिन कोरोना सङ्क्रमणलाई रोक्न राज्यव्यापी पूर्ण लकडाउनको घोषणा गरेको थियो। जसअनुसार, यस महीनाको प्रथम लकडाउन आज 7 सेप्टेम्बरको दिन भयो भने अब आगामी 11, 12 अनि 17 सेप्टेम्बरका दिन पनि राज्यमा पूर्ण लकडाउन रहनेछ।
यसै लकडाउनका कारण आज दार्जीलिङ पहाड़ लगभग जनशून्य रहेको थियो भने गाड़ीहरूको चलाचल ठप्प नै बनेको थियो।
दोकानहरू बन्द रहे, सरकारी कार्यालयहरू ठप्प रहे भने चियाबगानहरूमा भने सधैँजस्तै सामान्यरूपले काम चल्यो।
विशेष लकडाउनअवधि चिया उद्योगसित सम्बन्धित सबै क्षेत्रलाई खुल्ला राख्ने गरिएको छ।
यसैले आज सोमबार लकडाउनका कारण सरकारी कार्यालयहरू बन्द रहे पनि चियाबगान पूर्णरूपले खुल्ला रहेको थियो।
यसैबीच, अब भोलिदेखि दार्जीलिङ पहाड़का होटल र रेस्टुराँहरू पनि खुल्ला हुने तय भएको छ।
यसका साथै गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए) अधीनस्थ पर्यटन स्थलहरू पनि भोलिदेखि नै खुल्ला हुने भएको छ।
दार्जीलिङ र कालेबुङ जिल्ला प्रशासनले कन्टेनमेन्ट जोन छोड़ेर अन्य स्थानका सबै होटल र रेस्टुराँहरूलाई स्वास्थ्यसित सम्बन्धित नियमहरू पूर्णरूपले पालन गर्दै खोल्ने अनुमति दिएको छ।
यसैले जीटीएले पनि आफ्नो अधीनमा रहेका पर्यटन स्थलहरूलाई खोल्ने निर्णय लिएको छ। तर पर्यटन स्थलहरू खोलिएपछि कोरोना सङ्क्रमण फैलिन नदिन पूर्ण व्यवस्था गरिने भएको छ अनि प्रत्येक दिन नै पर्यटन स्थलहरूमा सेनिटाइज गर्ने तथा अन्य व्यवस्थाहरू गरिने भएको छ।
दार्जीलिङ पहाड़का होटल, रेस्टुराँहरू खोलिने भएपछि बिस्तारै दार्जीलिङ पहाड़मा पर्यटकहरूको आगमन शुरू हुने स्पष्ट छ।
यद्यपि, कोरोना सङ्क्रमण फैलिन नदिन प्रशासनले होटल तथा रेस्टुराँहरूलाई सामाजिक दूरीको नियम र हेल्थ हाइजिन प्रोटोकल्सलाई कठोरतासित पालन गर्ने पनि निर्देश दिएको छ।