सिलगढ़ी, 8 सेप्टेम्बरः आज एशियन हाइवे-48 अन्तर्गत तेलीपाड़ा मोड़नजिक भएको सड़क दुर्घटनामा परी डुवर्सको शिशुझुम्रानिवासी स्वास्थ्यकर्मी माइती लामा (38)-को आज मृत्यु भएको छ।
मृतक शिशुझुम्रा प्राथमिक स्वास्थ्य उपचार केन्द्रकी नर्स थिइन्। बनारहाट पुलिस थाना सूत्रले दिएको जानकारीका अनुसार आज अपराह्न करिब 2 बजे यो दुर्घटना भएको हो।
स्थानीय सूत्रका अनुसार उनी आफ्ना पति पदम सार्कीसँग स्कुटीमा सवार भई बिन्नागढ़ीतर्फ गइरहेका थिए।
यसैबीच, उनीहरू सवार रहेको स्कुटीलाई एक अज्ञात ट्रकले पछिबाट धक्का दिँदा उछिटिएर सड़कबीच लड़ेकी उनलाई त्यसै ट्रकले किचेको बताइएको छ।
यो मर्मान्तिक दुर्घटनामा उनको घटनास्थलमै मृत्यु भयो। उनका पति पदम सार्की भने यो दुर्घटनामा घाइते भएको बताइएको छ। उनलाई उपचारका लागि बनारहाट स्वास्थ्य केन्द्रमा भर्ना गरिएको छ। घटनापछि आरोपी ट्रक भागेको छ।
अर्कोतिर, घटनाको जाँच गरिरहेको पुलिसले आरोपी ट्रकलाई चिह्नित गरी पक्राउ गर्ने कोशिश गरिरहेको पनि बनारहाट थाना सूत्रले बताएको छ।