विभिन्न मागमा दार्जीलिङ नगरपालिकाका कर्मचारीहरूद्वारा पेनडाउन हड़ताल शुरू

0
1036

दार्जीलिङ, 8 सेप्टेम्बरः दार्जीलिङ नगरपालिकाका कर्मचारीहरूले पनि आजदेखि पेनडाउन हड़ताल शुरू गरेका छन्।

दार्जीलिङ नगरपालिकामा कार्यरत् 116 जना कर्मचारीलाई सरकारी अनुमोदन उपलब्ध गराउनुपर्ने, दैनिक रोजीमा काम गर्ने सफाइकर्मीहरूलाई स्थायी गराउनुपर्ने या उनीहरूको वेतन वृद्धि गर्नुपर्ने, 54 जना सफाइकर्मी, 4 जना ‘डी’ श्रेणीका कर्मचारी र 13 जनालाई पिउनको पदमा नियुक्त गर्नुपर्ने मागमा नै आजदेखि दार्जीलिङ नगरपालिका कर्मचारी सङ्गठनको अगुवाइमा पेनडाउन हड़ताल शुरू गरिएको हो।

यी मागहरू पूरा नभए यसपालि दार्जीलिङ नगरपालिकाका कर्मचारीहरूले दशैं अनि तिहार पनि नमान्ने चेताउनी दिएका छन्।

यसबारे सङ्गठनकी सचिव दीपिका गुरुङले दार्जीलिङ नगरपालिकामा आजदेखि शुरू भएको यो पेनडाउन हड़ताल आउँदो 13 सेप्टेम्बरसम्म जारी रहने, 14 सेप्टेम्बरदेखि रिले अनशन शुरू गर्ने, त्यसले पनि माग पूरा नभए नगरपालिकाका आवश्यक सेवाहरू क्रमैले स्ट्रीट लाइट, वाटर वर्क्स, कन्जर्भेन्सी विभागलाई पनि बन्द गर्ने योजना रहेको जानकारी गराइन्।

यदि यी आन्दोलनहरूबाट पनि कर्मचारीहरूको माग पूर्ण नभए आमरण अनशन पनि शुरू गर्ने उनले घोषणा गरिन्।

“दार्जीलिङ नगरपालिकामा कार्यरत् कर्मचारीहरूले विविध समस्याहरू झेल्दै आइरहेका छन्। यस विषय लिएर कर्मचारी सङ्गठनले लगातार आवाज उठाइरहेको छ। तरै पनि यस विषयलाई नगरपालिका प्रशासनले कुनै ध्यान नै दिएको छैन’’, गुरुङले भनिन्, “यसैकारण आजदेखि पेनडाउन हड़ताल गर्न बाध्य भएका हौं। यदि पेनडाउन हड़ताल, रिले अनशनहरूले पनि नगरपालिका प्रशासनलाई कुनै असर नपरे नगरपालिका कर्मचारीहरूले पानीको सर्वराह ठप्प बनाउनेछन्; नगरपालिका क्षेत्रको मैला उठाउन बन्द गर्नेछन् अनि नगर वरिपरिका सम्पूर्ण सड़क रातीको समय अन्धकार रहनेछन्।’’

हाल नगरपालिका कर्मचारीहरूले पेनडाउन हड़ताल शुरू गरे पनि यी आवश्यक सेवाहरूलाई खुल्ला राखिएको उनले बताएकी छन्।

यद्यपि नगरपालिकाले आफ्ना कर्मचारीहरूको समस्या समाधानको दिशामा ठोस पहल नगरे नगरवासी जनताले पनि समस्या भोग्न पर्ने उनको भनाइ छ।

उल्लेखनीय छ, दार्जीलिङ नगरपालिका कर्मचारी सङ्गठन तृणमूल कङ्ग्रेस समर्थित कर्मचारी सङ्गठन हो भने तृणमूल कङ्ग्रेसकै सहयोगमा सङ्गठनले आजदेखि पेनडाउन हड्ताल शुरू गरेको हो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here