लङभ्यु चियाकमानः अर्को त्रिपक्षीय बैठक 14 सेप्टेम्बरमा

0
1048

खरसाङ, 12 सेप्टेम्बरः लङभ्यु चियाकमानको समस्यालाई आउँदो 14 सेप्टेम्बरका दिन फेरि त्रिपक्षीय बैठक बसिने जानकारी पाइएको छ।

उक्त बैठक सिलगढ़ी डागापुरस्थित श्रमिक भवनमा अपराह्न 3 बजीदेखि शुरू हुनेछ।

बैठकका लागि सहश्रमायुक्त खरसाङले लङभ्यु टी एन्ड एग्रो लिमिटेडका प्रबन्धक निर्देशक र बगानका म्यानेजरलाई पनि पत्राचार गरिसकेका छन्।

यसभन्दा अघि पछिल्लो 3 सेप्टेम्बरका दिन बसिएको बैठक असफल बनेको थियो।

यसैले आउँदो 14 सेप्टेम्बरका दिन हुने बैठकमा पोहोरको रहल 8 प्रतिशत बोनसबारे सकारात्मक निर्णय हुने श्रमिकहरूले आशा गरेका छन्।

उल्लेखनीय छ, लङभ्यु चियाकमानका श्रमिक/कर्मचारीहरूले पोहोर सालको रहल 8 प्रतिशत बोनस आजसम्म पाएका छैनन्।

यति मात्र होइन उनीहरूले वेतन र अन्य सहुलियतहरू पनि नियमित रूपमा पाउन सकिरहेका छैनन्।

अर्कोतिर,  मालिकपक्षले पछिल्लो 10 अगस्तकै दिन बगानमा सस्पेशन अव् वर्कको नोटिस जारी गरिसकेको छ।

अनुशासनहीनता, कार्यसंस्कृति नरहेको तथा अन्य कारण देखाएर सस्पेन्शन अव् वर्कको नोटिस 10 अगस्तकै दिन जारी गरिएको भनिए तापनि  यो नोटिस श्रमिकहरूले 21-22 अगस्तका दिन प्राप्त गरेका हुन्। हाल लङभ्यु बगान बन्द अवस्थामा छ।  

उल्लेखनीय छ, आफ्ना माग र अधिकारका लागि लङभ्यु चियाकमानका श्रमिकहरू 10 देखि 18 अगस्तसम्म शान्तिपूर्ण धरना-प्रदर्शन तथा 19 अगस्तदेखि क्रमिक अनशन शुरू गरेका थिए।

यद्यपि 3 सेप्टेम्बरका दिन बसिएको बैठकमा अतिरिक्त श्रमायुक्त मोहम्मद रिजवानले अनशन फिर्ता लिने अनुरोध गरेपछि 4 सेप्टेम्बरका दिन श्रमिकहरूले अनशन उठाइसकेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here