मलाई झण्डाभन्दा पनि तपाईंहरूको मन चाहिएको हो: अनित थापा

0
1143

दार्जीलिङ, 13 सेप्टेम्बरः दार्जीलिङ पहाड़ अहिले कोरोना सङ्क्रमणले मात्रै होइन, आर्थिक मन्दी साथै बेरोजगारी समस्याले पनि ग्रस्त रहेको जीटीए बीओएका अध्यक्ष अनित थापाले बताएका छन्।

यसैले पहाड़लाई अहिले चाहिएको आर्थिक स्थिति सुधार्नका साथै रोजगार दिलाउने भ्याक्सिन दिन आफू लागिपरेको बताएका छन्।

आज उनले मार्गरेटसहोप चियाबगानको भ्रमणअवधि यसो भनेका हुन्।

उनले भने, “मैले अहिले बेरोजगारको शिकार भएका युवाहरूलाई रोजगारको अवसर सृजना गर्ने विषयलाई एक मिशनको रूपमा लिएको छु। यसका साथै हाम्रो माटो, हाम्रो घरको कागज-पत्र हाम्रो नाममा गराउने विषयलाई पनि मैले एक मिशन नै बनाएको छु।’’

स्मरण गराइन्छ, विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाले दार्जीलिङ पहाड़का चियाबगान, सिन्कोना बगान, डीआई फण्ड, वन बस्ती क्षेत्रमा वर्षौदेखि बसोबासो गर्दै आइरहेका मानिसहरूलाई उनीहरूको घड़ेरी साथै बारी आदिको मालिकाना अधिकार दिलाउने सङ्कल्प गरेको छ।

थापाले थपे, “बाटो भन्दा पनि बेरोजगार समस्या नै मेरो ठूलो चिन्ताको विषय बनेको छ। यी बेरोजगार भाइ-बहिनीहरूले रोजगार पाउने आशामा नै विभिन्न पार्टीको झण्डा थाप्दै हिँड़िरहेका छन्। रोजगार पाउँदैनन् अनि पलायन भएर ठूला शहर पस्छन्।’’

उनका अनुसार जीटीए क्षेत्रमा रोजगार दिने राम्रो पद्धति नै छैन। १९८६-देखि इम्प्लोयमेन्ट एक्सचेञ्ज निष्क्रिय भएको छ। जसका कारण त्यस समयदेखि नै दार्जीलिङ पहाड़मा अस्थायी कर्मचारीहरूको नियुक्ति हुन थालेको हो।

“तर वर्तमान जीटीएले रोजगार दिने सिस्टम स्थापना गर्ने कार्य गरिरहेको छ। मार्गरेटसहोपमा मात्र १२० जना भाइ-बहिनीहरू कोभिड-१९-को समय आफ्नो घर फर्किएर आएका छन्। हाल उनीहरू सबै बेरोजगार बनेर घरमा बसिरहेका छन्’’, अनितले थपे, “दार्जीलिङ पहाड़मा हामी आफैले रोजगारका विकल्पहरू खोज्नुपर्छ। पहाड़मा उद्योगपतिहरू निवेश गर्न तयार छन्, तर सर्वप्रथम हामीले पहाड़लाई शान्त बनाएर राख्न जरूरी छ। रोजगारका लागि हामीले सरकारमाथि मात्रै निर्भर नरहेर प्राइभेट रोजगारका विकल्प पनि खोज्नुपर्छ।’’

उनले थपे, “रोजगारका लागि पार्टीहरूको झण्डा थापेर मात्र हुँदैन। मलाई झण्डाभन्दा पनि तपाईंहरूको मन चाहिएको हो। यसै मनले हामी हाम्रो आर्थिक स्थितिमा सुधार ल्याउन सक्छौँ।’’
यसरी नै अनित थापाले छुट्टै राज्य गोर्खाल्याण्डको सन्दर्भ झिक्दै भने, “गोर्खाल्याण्ड जेल गएर, आगो लगाएर, आन्दोलन गरेर होइन, बौद्धिक लडाइँ गरेर ल्याउन सकिन्छ। यसका लागि बुद्धिजीवीहरूले दिल्लीकेन्द्रित पहल गर्नुपर्छ। राजनैतिक पार्टीले मागेको गोर्खाल्याण्ड जहिले पनि कुर्सीमा आएर टुङ्गिएको छ।’’

उनले थप भने, “गोर्खाल्याण्डको नाममा हामीले भोट हाल्नुपर्ने? गोर्खाल्याण्डको राजनीतिको कारण अहिले मान्छेले काम पनि गर्न छोड़िसकेका छन्। बाबु-बाजेले हामीलाई कृषि अनि पशु पालन गरेर नै पढ़ाएका हुन्। अहिले पहाड़मा हिमुल बन्द भयो। कारण अहिले पहाड़का मान्छेले गाई पाल्न नै छोड़िसकेका छन्। जमीन बाँझो छ। अब हामीले आफ्नो घर फर्किएर हाम्रा बाबु बाजेले गरेको काम फेरि गर्नुपर्छ।’’

थापाले अझ अघि भने, “अब चुनाउ आउँदैछ। फेरि तपाईंहरूको मोबाइलमा विनय अनि अनितले गोर्खाल्याण्ड बेचे भन्ने कुराहरू आउँछन्। तपाईंहरूले त्यो कुरामा विश्वास गर्नुहुन्छ अनि फेरि उल्टा भोट हाल्नुहुन्छ। हामी बङ्गालमा बसेर दिल्लीलाई भोट हाल्छौँ, जसले हामीलाई आजसम्म काँटी पनि दिएको छैन।’’

अर्कोतिर, आज जीटीए बीओएका अध्यक्ष अनित थापाको उपस्थितिमा मार्गरेट्होप्स बस्ती गाउँका 150 घर परिवार विनयपन्थी मोर्चामा सामेल भएको बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here