क्रामाकपाले सोध्यो- बङ्गालले पञ्चायत चुनाउ नगराउँदा पनि जीटीए प्रशासनले के हेरिरहेको छ?

0
1023

दार्जीलिङ, 13 सेप्टेम्बरः जीटीए सम्झौतामा उल्लेख त्रिस्तरीय पञ्चायत चुनाउ आजका दिनसम्म पनि पश्चिम बङ्गाल सरकारले नगराउँदा पनि जीटीए प्रशासनले के हेरिरहेको छ भन्ने प्रश्न क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले गरेको छ।

“अहिले दार्जीलिङका साधारण जनताले भोग्नु परेको सबैभन्दा ठूलो दुःख भनेकै पञ्चायत हो। त्रिस्तरीय पञ्चायत चुनाउ हुनुपर्छ भनेर जीटीएको सम्झौतामा सहमति भयो‘’, क्रामाकपा दार्जीलिङ आञ्चलिक कमिटीका सचिव उद्धव खनालले थपे, “तर अहिलेसम्म त्यसका लागि कसैले केही गरेका छैनन्। त्रिस्तरीय पञ्चायत चुनाउमा ग्रामीण क्षेत्रका मानिसहरूले सुख सुविधा पाउँछन्। उनीहरूले पाउने हक अधिकार पाउँछन्।”

पञ्चायतमा 36 वटा विभाग रहेको तर दार्जीलिङ पहाड़मा भने पञ्चायतमार्फत् एउटा सयदिने रोजगार योजनाबाहेक अन्य केही नपाएको पनि उनले बताए।

क्रामाकपा नेता खनालले थप भने “पञ्चायत चुनाउ पश्चिम बङ्गाल सरकारले किन गर्दैन? चुनाउ नगराउनु के कारण छ? चुनाउ गराउँदा पनि यहाँको जीटीए प्रशासनले के हेर्दैछ यहाँ? सम्झौतामा लेखिएको कुरालाई अहिलेसम्म पूरा गरेको छैन। यहाँ यो खालको मनोपली भइरहेको छ।”

अर्कोतिर, पहाड़मा कसैलाई कुनै नोकरीमा नियुक्त गर्दा पनि मनपरी गरिरहेको आरोप लगाएका छन्। नियुक्तिका लागि पदको विज्ञापन नै ननिकाली सोझै नियुक्ति दिइरहेको खनालको भनाइ छ।

“हिजो अस्ति मात्र अलिकति सुनियो कालेबुङमा कता शिक्षक नियुक्ति भयो अरे। तर अन्तर्वार्ता भएको छैन। अन्तर्वार्तामा आउनु पऱ्यो, त्यसका लागि कलिङ हुनुपऱ्यो। पहिला त यहाँ इम्प्लोइमेन्ट एक्सचेञ्च थियो। इम्प्लोइमेन्ट एक्सचेञ्चले सिनियरको हिसाबमा कलिङ पठाएर अन्तर्वार्ता राखेर, त्यो अन्तर्वार्तामा पास भएका योग्य व्यक्तिलाई नियुक्ति दिइन्थ्यो। तर अहिले हाम्रो पहाड़मा त्यो छैन।”

उनका अनुसार आज क्रामाकपा दार्जीलिङ आञ्चलिक समितिको सभामा यीलगायत अन्य धेरैवटा विषयमा छलफल गरियो। आजको सभा आञ्चलिक समितिका अध्यक्ष केबी राईको अध्यक्षतामा सम्पन्न भएको थियो।

साथै उल्लिखित विषयहरूलाई लिएर महकुमा अधिकारी, खण्ड अधिकारीहरूलाई पार्टीको तर्फबाट ज्ञापन दिने पनि खनालले बताए।

यसका साथै यी विषयहरूबारे क्रामाकपाले जनतालाई जागरुक बनाउने पनि उनले बताए।  

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here