गान्तोक, 13 सेप्टेम्बरः राष्ट्रिय पार्टी कङ्ग्रेसमा पछिल्लो तीन दशकदेखि विभिन्न पदमा रहेर जिम्मेवारी वहन गर्दै आएका भरत बस्नेतले प्रदेश कङ्ग्रेसको अध्यक्ष पदबाट राजीनामा दिएका छन्।
उनले राज्य सरकारको स्वास्थ्य सेवाको क्षेत्रमा विफलता र राष्ट्रिय कङ्ग्रेस कमिटीको नीतिकै कारण आफूले राजीनामा दिएको बस्नेतले खुलाए।
उनले शनिबार पार्टीकी राष्ट्रिय अध्यक्ष श्रीमती सोनिया गान्धीलाई आफ्नो राजीनामा पठाइसकेका छन्।
प्रदेश कङ्ग्रेसको मुख्यालयमा आज एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बस्नेतले अध्यक्ष पदबाट राजीनामा दिनुका कारणहरूबारे स्पष्ट पारे।
आफूले आजसम्म एक समर्पित कङ्ग्रेसी भएर सिक्किममा कङ्ग्रेस पार्टीको अस्तित्व र मर्यादा बचाएर राखेको दाबी गर्दै उनले पार्टीको राष्ट्रिय समितिद्वारा आफूलाई पत्तै नदिई राज्य प्रभारी नियुक्त गरेको उनले बताए।
यस्तो निर्णय लिँदा प्रदेश अध्यक्षसँग सल्लाहसमेत नलिएपछि आफूलाई पार्टीमा बसिरहन स्वाभिमानले नदिएको बस्नेतको भनाइ छ।
कङ्ग्रेसको अध्यक्ष पदबाट राजीनामा दिए तापनि आफू सिक्किम अनि सिक्किमेली जनताको पक्षमा सदैव लड़िरहने बताएका छन्। आफू कुनै राष्ट्रिय या क्षेत्रीय पार्टीमा सामेल बन्ने योजना भनेको नरहेको बताउँदै बस्नेतले कङ्ग्रेसको जवाबपछि भावी रणनीति तय गर्ने भएका छन्।
अर्कोतिर, भरत बस्नेतले आफूले राजीनामा दिनुको राज्य सरकारसम्बन्धी कारण खुलाउँदै भने, “स्वास्थ्य उपचार संवैधानिक अधिकार हुँदा हुँदै राज्यवासीलाई सही उपचारको व्यवस्था गर्नमा प्रशासन चुकेको छ। जस्तो कि चारवटा मृत्यु भयो। आज कलिलै उमेरमा गर्भवती नारी झरना राईले प्राण गुमाउनु पऱ्यो। उनका पिता तथा अन्य मृतकका परिवारका भिडियोहरू हेरिरहेका छौँ। यस्ता घटनाहरू हुँदा हुँदै पनि राज्य सरकारलाई हामीले राज्य सरकारका आँखा खोल्ने कोशिश गऱ्यौँ, तर आजसम्म सरकारको आँखा खोलिएको छैन।’’
उनले थपे, “मृतकहरूलाई कमसेकम अनुदानको रूपमा सहयोग राशि दिइयोस् भन्ने हाम्रो माग थियो, त्यो पनि भएन।”