पर्जापट्टाको मागमा विनयपन्थी मोर्चा र डीटीडीपीएलयूद्वारा चियाबगानहरूमा धरना प्रदर्शन शुरू

0
1242

दार्जीलिङ, 14 सेप्टेम्बरः पर्जा-पट्टाको मागमा आज (सोमबार)-देखि विनयपन्थी गोर्खा जनमुक्ति मोर्चाले दार्जीलिङ पहाड़का चियाबगानहरूमा आन्दोलन शुरू गरेको छ।

विनयपन्थी मोर्चा र दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनको संयुक्त पहलमा नै आजदेखि दार्जीलिङ पहाड़का विभिन्न चियाबगानमा चियाश्रमिकहरूले धरना प्रदर्शन शुरू गरेका हुन्, जसले चियाबगानमा वर्षौंदेखि बसोबासो गर्दै आइरहेका चियाश्रमिक तथा चियाबगानका बासिन्दाहरूलाई उनीहरू बस्दै आएको घर-घड़ेरीको मालिकाना अधिकार दिनुपर्ने माग गरिरहेका छन्।

यसबारे गोजमुमो प्रवक्ता केशवराज पोख्रेलले भने, “आजदेखि पर्जा-पट्टाको मागमा दार्जीलिङ पहाड़का धेरैवटा चियाबगानमा धरना वा गेटसभा शुरू भयो। धारावाहिक रूपमा चल्ने यो कार्यक्रमपछि पार्टी र श्रमिक सङ्गठनले पोस्टरिङ गर्नेछ भने पोस्टरिङपछि महकुमा अधिकारी, खण्ड विकास अधिकारीहरूलाई ज्ञापन पनि दिने कार्यक्रम पनि छ।’’

स्मरण रहोस्, विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाले पर्जा-पट्टाको मुद्दालाई गम्भीरतासित लिएको छ, यसैले यस विषयमा पार्टीले आन्दोलन नै शुरू गरेको छ।

पार्टी अध्यक्ष विनय तामाङले यसबारे भनिरहेका छन्-दार्जीलिङ पहाड़का 80 प्रतिशतभन्दा अधिक मानिसहरूको हातमा आफू बस्दै आएको जमीनको पर्जा-पट्टा छैन। यस विषयलाई लिएर दार्जीलिङ पहाड़का जनताले धेरै अघिदेखि नै माग उठाउँदै आइरहेका छन्। तर, अहिलेसम्म पनि केही हुनसकेको छैन। यसैले गोर्खा जनमुक्ति मोर्चाले यस विषयलाई मुख्य मुद्दा बनाएर अघि बढ्ने सङ्कल्प गरेको हो।

तामाङले भनेअनुसार, हाल गोर्खा जनमुक्ति मोर्चाको राज्य सरकारसित कुटनैतिक सम्बन्ध छ, यसैले यस समय दार्जीलिङ पहाड़का जनताले धेरै फाइदा उठाउन सक्नेछन्। यसैकारण राज्य सरकारलाई मनाएर दार्जीलिङ पहाड़का जनतालाई उनीहरू बस्दै आएको जमीनको मालिकाना अधिकार दिलाउने दिशामा पार्टीले अहम कार्य गरिरहेको छ।

केशवराज पोख्रेलको भनाइ छ-दार्जीलिङ पहाड़मा चियाबगान, सिन्कोना बगान, डीआई फण्ड आदिको जमीन छ। जसमा बसोबासो गर्ने 80 प्रतिशतभन्दा अधिक मानिसहरूको हातमा आफ्नो जमीनको मालिकाना अधिकारको कागज पत्र नै छैन। यसैले यी मानिसहरूलाई सर्वप्रथम आफ्नो जमीनको मालिकाना अधिकार दिलाउनुपर्छ भन्ने विषयलाई ध्यानमा राखेर नै पार्टीले यसको लागि आफ्नो कार्यक्रम शुरू गरेको हो।

पार्टीले यसबारे भनेको छ-मेरो जमीनमाथिको अधिकार नै मेरो गोर्खाल्याण्ड।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here