दार्जीलिङ, 14 सेप्टेम्बरः वरिष्ठ साहित्यकार कर्ण थामी अब सशरीर हामीमाझ रहेनन्। उनको आज बेलुकी दार्जीलिङ इडेन अस्पतालमा निधन भएको छ।
जानकारीका अनुसार पछिल्लो केही दिनदेखि अस्वस्थ्य रहेका उनलाई इडेन आज अस्पतालमा भर्ना गरिएको थियो।
इडेन अस्पताल सूत्रका अनुसार उनको आज बेलुकी करिब 6:35 बजी निधन भएको हो। उनी 78 वर्ष पुगेका थिए।
1 मार्च 1942 सालमा जन्मेका कर्ण थामीका सुकान्तका कविताहरू (अनुवाद), बङ्ग्लाका श्रेष्ठ कथाहरू (अनुवाद), अनि बादल यसरी फाटिन्छ (कथा सङ्ग्रह), धूप जलिरहेछ (कविता सङ्ग्रह), मुक्त माटोको खोजीमा (कथा सङ्ग्रह) आदि जस्ता कृति प्रकाशित छन्।
कथा र कविता लेखनसँगै अनुवादमा समर्पित उनले 1994 मा साहित्य अकादमी अनुवाद पुरस्कार पनि प्राप्त गरेका थिए। यसका साथै उनी विभिन्न समयमा विभिन्न सङ्घ-संस्थाबाट पनि सम्मानित भएका थिए।
स्मरण रहोस्, नेपाली भाषा आन्दोलनमा सक्रिय सहभागिता जनाएका उनलाई भाषा आन्दोलनमा दिएको योगदानको कदर गर्दै नेपाली साहित्य सम्मेलनले पनि सम्मान जनाएको थियो।
वरिष्ठ साहित्यकार थामी नेपाली साहित्य सम्मेलन दार्जीलिङका पूर्व अध्यक्षसमेत हुन्। उनको निधनमा साहित्यकारहरूले गहिरो शोक प्रकट गरेका छन्।