दार्जीलिङ, 15 सेप्टेम्बरः राष्ट्रिय सुरक्षा हितलाई ध्यानमा राखेर केन्द्र सरकारले दार्जीलिङ पहाड़, तराई अनि डुवर्सको स्थायी राजनीतिक समाधान यथाशीघ्र गर्नुपर्ने गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-ले माग गरेको छ।
गोरामुमोको मागका अनुसार आउँदो वर्ष (2021)-मा हुने बङ्गाल विधानसभा चुनाउ अघि केन्द्र सरकारले गोर्खाहरूको राजनैतिक समस्याको स्थायी समाधान गर्न झट्टै ठोस कदम उठाउनुपर्नेछ।
यसै मागमा आज आज गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशमा युवा एकाइ गोरायुमोले पहाड़का विभिन्न ठाउँमा पोस्टरिङ गरेको छ।
गोरामुमोले स्थायी राजनीतिक समाधान चाँड़ो हुनुपर्ने माग मात्र पोस्टरमा गरेको छैन। तर, पछिल्लो 5 अगस्तका दिन केन्द्रिय गृहमन्त्रालयद्वारा डाकिएको जीटीएको समीक्षा सभा स्थगित होइन, पूर्ण रूपमा रद्द हुनुपर्ने माग पनि गरेको छ।
साथै स्थायी राजनीतिक समाधानको पक्षधरले असंवैधानितक जीटीएबाट आफ्नो हस्ताक्षरलाई एकतर्फी रूपमा फिर्ता लिनुपर्ने बताएको छ।
यसैबीच, पोस्टर कार्यक्रममाथि बोल्दै गोरामुमो केन्द्रिय कार्यालय प्रवक्ता वाई लामाले पहाड़वासीले भाजपा उम्मेदवारलाई पहाड़बाट प्रचण्ड मतले जिताएर पठाएको तीनपटक भइसकेको र यो 12 वर्षको समयावधि भनेको गोर्खाको समस्यालाई बुझ्न तथा समाधान गर्न कम्ती नरहेको बताउँदै आउँदो वर्ष हुने बङ्गाल विधानसभा चुनाउअघि नै स्थायी राजनीतिक समाधानबारे केन्द्र सरकारले ठोस पहल नगरे आउँदो दिनमा गाह्रो पर्ने बताए।
यसैले बङ्गाल विधानसभा चुनाउअघि नै यसबारे ठोस कदम उठाउनुपर्ने पार्टीको माग रहेको पनि लामाले बताए।