होटल सेट्रल हेरिजेटका कर्मचारीहरूलाई अनित थापाले दिए आफ्नो 5 महिनाको वेतन

0
1093

दार्जीलिङ, 18 सेप्टेम्बर: जीटीए बीओएका अध्यक्ष अनित थापाले आज आफ्नो 5 महिनाको वेतन दार्जीलिङको होटल सेन्ट्रल हेरिटेजका कर्मचारीहरूलाई प्रदान गरे।

होटल सेन्ट्रल हेरिटेजका लगभग 80 जना कर्मचारीले होटल मालिकबाट गत 6 महिनादेखि वेतनको रूपमा एक पैसा पनि पाएका छैनन्। कोरोना सङ्क्रमणको कारण देशमा जस्तो लकडाउनको घोषणा भयो, त्यस्तै होटल सेन्ट्रल हेरिटेजका  मालिकले यहाँका कर्मचारीहरूलाई आफ्नो कामबाट हटाएका थिए अनि उनीहरूलाई वेतन पनि दिन बन्द गरेका थिए। जसका कारण गत केही दिनअघि यहाँका कर्मचारीहरूले गोरामुमोको सहयोगमा होटलअघि धरना पनि प्रदर्शन गर्दै व्यापक नाराबाजी गरेका थिए।

तरै पनि होटल मालिकले उनीहरूको यस धरना वा आन्दोलनलाई कुनै पत्तो नै दिएका छैनन्।

यसै विषयलाई ध्यानमा राखेर आज जीटीए बीओएका अध्यक्ष अनित थापाले आफ्नो 5 महिनाको वेतन यी कर्मचारीहरूलाई दिएका हुन्।

जीटीए अध्यक्ष थापा अहिले कलकत्ता भ्रमणमा रहेका कारण यो राशि गोजमुमो केन्द्रिय समिति सदस्य डीके प्रधानको हातबाट प्रदान गरिएको हो।

हाल जीटीए अध्यक्ष अनित थापाको मासिक वेतन 50 हजारभन्दा अधिक रहेको सूत्रबाट जानकारी पाइएको छ।

यसै विषय लिएर पत्रकारहरूलाई सम्बोधन गर्दै गोजमुमो सदस्य डीके प्रधानले भने, “दार्जीलिङको होटल सेन्ट्रल हेरिटेज एक प्रसिद्ध होटल हो। जसले आफ्ना कर्मचारीहरूमाथि सरासर अन्याय गरेको छ। यस विषयलाई गोजमुमो अध्यक्ष विनय तामाङ, जीटीए अध्यक्ष अनित थापाले नजिकबाट हेरिरहेका थिए अनि जीटीए अध्यक्षले आफ्नो 5 महिनाको वेतन यी कर्मचारीहरूलाई दिने निर्णय गरेका हुन्।’’

उनले भने, “लकडाउनको कारण देशभरिका होटल व्यवसाय पूर्णरूपले चौपट बनेको छ, जसमा दार्जीलिङ पहाड़का होटलहरू पनि सामेल छन्। तरै पनि दार्जीलिङ पहाड़का होटलहरूमा कार्यरत् कर्मचारीहरूका समस्यालाई केही हदसम्म भए पनि समाधान गर्नका लागि जीटीएको पहलमा गत केही महिनाअघि होटल मालिक, कर्मचारी संगठनहरूलाई लिएर एक सभा भएको थियो। जसमा अधिकांश होटलले लकडाउन अवधिभरिको 30 देखि 50 प्रतिशत वेतन दिने कुरालाई स्वीकार गरेका थिए अनि त्यसै सम्झौताअनुसार, दार्जीलिङ पहाड़का अधिकांश होटलले आफ्ना कर्मचारीहरूलाई वेतन भुक्तान गरे अनि गरिरहेका छन्। तर होटल सेन्ट्रल हेरिटेजले आफ्ना कर्मचारीहरूलाई एक पैसा पनि दिएको छैन।’’

यस विषयमा खुशी व्यक्त गर्दै होटल सेन्ट्रल हेरिटेजका कर्मचारी साहिल थापाले जीटीए अध्यक्ष थापाप्रति आभार व्यक्त गरेका छन्।

उनले भने, “कमाउने समयमा हामीले 18 देखि 20 घण्टासम्म खटेर मालिकलाई मुनाफा दियौं, तर संसारलाई नै सङ्कटमा पार्ने गरी आएको कोरोना सङ्क्रमणकालमा हाम्रा मालिकले हामीलाई एक पैसा पनि दिएनन्।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here