पाँच सदस्यीय टोली कलकत्ता प्रस्थानः माग पूरा हुने आशा

0
1034
(फाइल फोटो)।

दार्जीलिङ, 19 सेप्टेम्बर: सयौं कर्मचारीको आशाको पोका बोकेर दार्जीलिङ नगरपालिका कर्मचारी सङ्गठनका 5 सदस्यीय प्रतिनिधि टोली आज कलकत्ता प्रस्थान गऱ्यो।

नगरपालिकाका फाइनेन्स अफिसरको नेतृत्वमा गएको यस प्रतिनिधि टोलीले आगामी सोमबार विभागीय शीर्ष अधिकारीहरूसित भेट गर्ने भएका छन्।

यदि शीर्ष अधिकारीस्तरबाट नै दार्जीलिङ नगरपालिकाका आन्दोलनरत् कर्मचारीहरूको समस्या समाधान भए ठीकै छ, नभए यसलाई राजनैतिकस्तरमा समाधानका लागि पहल गरिने दार्जीलिङ हिल तृणमूल कङ्ग्रेसका प्रवक्ता एनबी छेत्रीले आश्‍वासन दिएका छन्।

दार्जीलिङ नगरपालिका कर्मचारी सङ्गठन तृणमूल कङ्ग्रेस समर्थित कर्मचारी सङ्गठन हो, जसले तृणमूल कङ्ग्रेसकै सहयोग समर्थनमा हाल नगरपालिका परिसरमा रिले अनशन गरिरहेको छ।

दार्जीलिङ नगरपालिकामा कार्यरत् अस्थायी कर्मचारीहरूलाई स्थायी गराउनुपर्ने, 116 जना कर्मचारीको नोकरीलाई सरकारी अनुमोदन प्रदान गर्नुपर्ने, दैनिक रोजीमा काम गर्ने सफाइकर्मीहरूको वेतन वृद्धि गर्नुपर्ने वा उनीहरूलाई पे-व्याण्ड कर्मचारीको दर्जा दिनुपर्ने जस्ता मागहरू लिएर नै यहाँका कर्मचारीहरूले गत केही दिनदेखि रिले अनशन गरिरहेका छन्।

आउँदो 28 सेप्टेम्बरसम्म जारी राखिने भएको यो रिले अनशनले पनि यी कर्मचारीहरूको समस्या समाधान नभए 29 सेप्टेम्बरदेखि आम हड़तालको रूप लिने अघिबाटै चेताउनी दिइएको छ। जसका अनुसार, पानीको सर्वराह, स्ट्रीट लाइट बन्द गरिने, मैला नउठाइने जस्ता रूपरेखाहरू सामेल छन्।

यद्यपि, नगरपालिकाका कर्मचारीहरूका यी समस्याहरू आगामी सोमबारको आधिकारिक भेटमा नै समाधान हुने तृणमूल कङ्ग्रेसले पनि आशा गरेको छ।

यसबारे हिल तृणमूल कङ्ग्रेस प्रवक्ता एनबी खवासले भने, “यी कर्मचारीहरूका समस्या समाधानका लागि प्रशासनिक प्रक्रियाहरू लगभग सबै पूर्ण भइसकेको छ। यसैले आगामी सोमबारको दिन हुने आधिकारिक बैठकमा नै यी कर्मचारीहरूको समस्या समाधान हुने आशा गरिएको छ। तर यस आधिकारिक बैठकबाट पनि समस्या समाधान नभए तृणमूल कङ्ग्रेसले राजनैतिक स्तरबाट प्रयास गर्नेछ।’’

उनले यी कर्मचारीहरूको समस्या धेरै वर्षदेखिको हो भन्ने बताउँदै तृणमूल कङ्ग्रेसले यसको समाधान गर्ने अठोट नै गरेको बताए।

खवासले दार्जीलिङ नगरपालिकाका विगतका बोर्डहरूको निष्क्रियताको कारण नै यी कर्मचारीहरूले दुःख पाइरहेको बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here