गान्तोक, 19 सेप्टेम्बरः आउँदो 1 अक्टोबरदेखि सिक्किममा मानिस र वाहनहरूका लागि अन्तरराज्य आवगमन पूर्णरूपमा खुला गरिने निर्णय लिइएको छ।
आज एक आदेश जारी गर्दै प्रशासनद्वारा यसको जानकारी गराइएको छ।
1 अक्टोबरदेखि राज्यबाहिर जान अनि राज्यबाहिरदेखि राज्यभित्र प्रवेश गर्नलाई कुनै प्रकारको अनलाइन पञ्जीकरण गर्नु पर्नेछैन।
अर्कोतिर, प्रशासनद्वारा जारी आदेशअनुसार 10 अक्टोबरदेखि राज्यका सबै होटल, होम स्टे तथा पर्यटनसित सम्बन्धित अन्य सबै प्रकारका सेवा सञ्चालन गर्न सकिनेछ।
राज्य सरकारको गृह विभागद्वारा जारी आदेशअनुसार अन्तरराज्य आवगमनका लागि स्वास्थ्य विभागले नयाँ दिशा निर्देश जारी गर्नुपर्नेछ। यसैअनुसार अन्तर राज्य आवगवनको अनुमति दिइनेछ।
यसैगरी पर्यटन विभागले स्वास्थ्य विभागसितको परामर्शमा राज्यमा होटल, होम स्टे अनि पर्यटनसित जोड़िएका अन्य सेवाहरूको सञ्चालनका लागि एक निर्देशिका तयार पारिनुपर्ने पनि आदेशमा उल्लेख गरिएको छ।
सिक्किममा होटल बुकिङहरू 27 सेप्टेम्बरदेखि शुरू गर्न सकिनेछ। राज्यको एक मात्र हेलीकप्टर सेवा पुनः आरम्भ हुनेछ।
आदेशअनुसार राज्य भ्रमणमा आउने विदेशी नागरिकहरूका निम्ति 10 अक्टोबरदेखि इनरलाइन पर्मिट जारी हुनेछ। 1 अक्टोबरदेखि ट्याक्सीहरूको निम्ति अड एण्ड ईभन नम्बर फर्मुला हटाइनेछ। निजी वाहनहरूको निम्ति भने यो फर्मुला यथावत रहने आदेशमा उल्लेख गरिएको छ।