गोर्खाल्याण्ड जनजागरण दिवसमा स्थायी राजनैतिक समाधानका लागि प्रार्थना

0
971

दार्जीलिङ, 23 सेप्टेम्बर: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष मन घिसिङले पेशोकको सजनी डाँड़ामा आफ्ना ‘आप्पा’-द्वारा स्थापना गरिएको वेदीअघि प्रार्थना गरेर दार्जीलिङ पहाड़का लागि शीघ्रै स्थायी राजनैतिक समाधानको मुद्दाले पार पाओस् भन्ने कामना गरे।

स्मरण गराइन्छ, 22 सेप्टेम्बर 1985-का दिन सुवास घिसिङले यस स्थानमा वेदीको स्थापना गरी गोर्खाल्याण्ड जनजागरण दिवसको शुरूआत गरेका थिए अर्थात् गोर्खाल्याण्ड आन्दोलनको सूत्रपात यसै स्थानबाट भएको थियो।

जहाँ विगतमा सुवास घिसिङले अनि वर्तमानमा मन घिसिङ साथै गोरामुमोका अन्य कार्यकर्ताहरूले प्रत्येक वर्ष नै एक कार्यक्रमको आयोजन गर्ने गरेका छन्।

यसका साथै गोरामुमोले प्रत्येक वर्ष नै गोर्खा जातिका लागि आफ्नै राज्य हुनपर्छ भन्ने सङ्कल्प पनि गर्ने गरेको छ। जहाँ यसपालि पार्टीले शीघ्र स्थायी राजनैतिक समाधानको मुद्दाको छिनाफाना होस् भन्ने प्रार्थना गरेको छ।

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा तकदा-टिस्टाभेल्ली समष्टिको आयोजनमा पालन गरिएको यस गोर्खाल्याण्ड जनजागरण दिवस समारोहको अवसरमा पार्टीका वरिष्ठ सदस्यहरू पनि सामेल थिए।

यसैबीच, गोरामुमो केन्द्रिय कार्यालय प्रवक्ता वाई. लामाले भने, “गोरामुमोका संस्थापक अध्यक्ष सुवास घिसिङले 7 वटा नदीको पवित्र जल, 7 स्थानको माटो, ढुङ्गा र काठ ल्याएर यहाँ वेदीको स्थापना गरी गोर्खाल्याण्ड जनजागरण दिवसको थालनी गरेका थिए, जसलाई गोरामुमोले लगातार पालन गर्दै आइरहेको छ। तर यसपालि कोभिड-19-का कारण पार्टीका कम्ती कार्यकर्ताहरूलाई मात्रै सामेल गराएर यो कार्यक्रमको आयोजन गरिएको हो।’’

पार्टी अध्यक्ष मन घिसिङको मुख्य उपस्थितिमा नै आज यहाँ गोर्खाल्याण्ड जनजागरण दिवस पालन गरिएको जसमा पार्टी अध्यक्षले गोर्खा जातिको लक्ष्य प्राप्त गर्नमा आजको प्रार्थानाले ठूलो बल मिलोस् भन्ने कामना गरेको पनि उनले बताए।

लामाले थपे, “हाल दिल्लीमा दार्जीलिङ पहाड़का लागि स्थायी राजनैतिक समाधानको मुद्दाबारे उचित पहल भइरहेको छ। यस पहललाई अझै शक्ति प्रदान होस् भन्ने पनि प्रार्थना गरिएको छ।’’

ज्ञात रहोस्, गत केही दिनअघि मात्रै दार्जीलिङका सांसद राजु विष्टले संसदमा दार्जीलिङ पहाड़का लागि स्थायी राजनैतिक समाधान होस् भन्ने विषय लिएर आवाज उठाएका थिए। जसपछि बिष्टलाई धन्यवाद दिनेहरू पनि एकपछि अर्को गर्दै अघि आइरहेका छन्।

यसरी नै गोरामुमोले पनि राजु बिष्टले संसदमा गोर्खाल्याण्डको आवाज उठाइदिएकोमा उनीप्रति आभार व्यक्त गरेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here