क्रामाकपाले लोकसभा चुनाउ लड़्ने : गोविन छेत्रीले भने -गोर्खाल्याण्ड नै गोर्खाहरूको चिन्हारीको समस्याको स्थायी समाधान

0
1298
क्रामाकपा प्रवक्ता गोविन छेत्री (फाइल फोटो)।

दार्जीलिङ, 29 जनवरी : क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा) -ले आगामी लोकसभा चुनाउ लड़्ने निर्णय गरेको छ। बुधवार दार्जीलिङस्थित पार्टी कार्यालयमा बसेको सभामा यस्तो निर्णय लिइएको क्रामाकपा प्रवक्ता गोविन छेत्रीले जानकारी गराएका छन्। सभालाई पार्टी अध्यक्ष आरबी राईले अध्यक्षता गरेका थिए।

छेत्रीका अनुसार आजको सभामा विशद् चर्चा परिचर्चापछि क्रामाकपाले आगामी लोकसभा चुनाउ लड़्ने निधो गरेको हो। यद्यपि आगामी लोकसभा चुनाउका लागि साझा उम्मेद्वारको नाममा पहाड़का सबै पार्टी एकमत भएमा क्रामाकपाले साझा उम्मेद्वारलाई समर्थन जनाउने छेत्रीको भनाइ छ।

उनले भने, “केही महिना अघि हाम्रो पार्टीले चुनाउ समिति गठन गरेको थियो। यो समितिका प्रभारीहरूले दार्जीलिङ लोकसभा क्षेत्रका विभिन्न ठाउँका राजनीतिक परिस्थिति आकलन गरी आज आ-आफ्नो रिपोर्ट बुझाए।” यो रिपोर्टमाथि विस्तृत रूपमा छलफल गरेपछि यसपालिको चुनाउमा क्रामाकपा लड़्नुपर्ने कुरामा सबै एकमत भएको छेत्रीले बताए।

“क्रामाकपा गोर्खाल्याण्डको मुद्दामा सधैँ प्रतिबद्ध छ। हाम्रो एक मात्र छुट्टै राज्य हो। हामी चाहन्छौं, गोर्खाल्याण्डविरोधी पार्टीले यसपालि दार्जीलिङ पहाड़को लोकसभा आसन नजितोस्”, उनले थपे, “हाम्रो पहिलो प्राथमिकता साझा उम्मेद्वार र पहाड़का राजनीतिक दलहरू एकमुष्ठ होस् भन्ने हो, तर पहाड़का राजनीतिक दलहरू सहमतिमा नआए, हामी चुनाउ लड़्नेछौं। अहिलेको परिस्थितिमा क्रामाकपाले चुनाउ लड़्ने निर्णय गरेको छ।”

उनले आजको बैठकमा चुनाउलगायतका अन्य विषयहरूमा पनि चर्चा परिचर्चा भएको बताए। साथै पछिल्लो 23 जनवरीको दिन चौरस्ताको मञ्चबाट राज्यकी मुख्यमन्त्रीले गोर्खाहरूको राष्ट्रिय चिन्हारीको समस्याको स्थायी समाधान गर्नका लागि काम गर्ने भनी दिएको बयानसम्बन्धी पनि छलफल गरिएको छेत्रीको भनाइ छ।

उनले भने, “गोर्खाहरूको राष्ट्रिय चिन्हारीको स्थायी समाधान भनेकै छुट्टै राज्य गोर्खाल्याण्डको प्राप्ति हो। छुट्टै राज्य प्राप्त भएपछि मात्र हाम्रो राष्ट्रिय चिन्हारीको समस्याको स्थायी समाधान हुनेछ।”

क्रामाकपा प्रवक्ताले थप भने, “साँच्चै मुख्यमन्त्री ममता ब्यानर्जी  गोर्खाहरूले भोगिरहेको चिन्हारीको समस्या समाधान गर्न इमानदार छिन् भने उनले गोर्खाल्याण्ड राज्य निर्माण गरिदिऊन्। हामी उनको फोटो देवता थानमा राखेर पुज्नेछौं, तर हाम्रो राष्ट्रिय चिन्हारीको मुद्दालाई आगामी लोकसभा चुनाउमा भोट बटुल्ने बयान भने उनले नबनाऊन्। मुख्यमन्त्रीको यो बयान हाम्रो आँखामा धुलो हालेर हामीलाई सधैँका लागि पराजित गर्ने षड़यन्त्र नहोस्।”

मुख्यमन्त्री ममता ब्यानर्जीले गोर्खाहरूको राष्ट्रिय चिन्हारीको स्थायी समाधान के हो? त्यो भने स्पष्टसँग नखुलाएको उनले बताए। नयाँ नामको जीटीएजस्तै व्यवस्था थमाएर त्यसलाई गोर्खाहरूको राष्ट्रिय चिह्नारीको समस्या समाधान भयो भन्ने ताकमा राज्यकी मुख्यमन्त्री रहेको हुनसक्ने आशङ्का पनि क्रामाकपा प्रवक्ताले जताए।

यसका साथै छेत्रीले चुनाउअघि राज्य सरकारले पहाड़का आफ्ना कार्यकर्ताहरूलाई प्राथमिक शिक्षकको नियुक्ति दिएर चुनावी वैतरणी तर्ने प्रयास गरिरहेको पनि बताए। छेत्रीले उक्त 121 शिक्षक नियुक्ति प्रक्रियाको जाँच हुनुपर्ने माग गरे।

उनले भने, “हामी उक्त शिक्षक नियुक्तिको विरोधमा छैनन्, तर शिक्षक नियुक्ति एउटा प्रक्रियाअनुसार हुनुपर्छ। यो बङ्गालभरिनै लागू हुने प्रक्रिया हो, तर यी प्रक्रिया पूर्ण नगरी नै मुख्यमन्त्रीले कसरी हात हातमा नियुक्ति थमाइन्? हाम्रो माग छ, यसको निष्पक्ष जाँच हुनुपर्छ। किनभने पहाड़मा प्रशिक्षित उम्मेद्वारहरू धेरै छन्। पहाड़मा शिक्षकहरूको पद पनि सयौं रिक्त छ। समुचित प्रक्रियाअनुसार सबैलाई नियुक्ति गरिनुपर्छ। पार्टीका कार्यकर्ताहरूलाई सीमित राजनीतिक फाइदा हेरेर यसरी नियुक्ति दिने भएमा पहाड़को शिक्षा व्यवस्था ध्वस्त हुनेछ।”

क्रामाकपा प्रवक्ताले श्रमिकहरूको वास्तविक समस्याको उपहास गरेर अहिले राज्य सरकारले करोड़ौं रुपियाँ खर्च गरी अनावश्यक रूपमा श्रमिक मेला गरिरहेको पनि आरोप लगाए। सरकार श्रमिकहरूको समस्यालाई समाधान गर्नका लागि इमानदार छ भने श्रमिकहरूलाई पर्जा पट्टा दिनका साथै उनीहरूका लागि न्युनतम रोज वृद्धि लागू गरोस्।

“यी समस्याहरूलाई आँखीओझेल गरी करोड़ौं रुपियाँ खर्चेर श्रमिक मेलामार्फत् फगत मनोरञ्जनको रमिता लगाउनु सरकारले श्रमिकहरूको उल्टै उपहास गर्नु हो”, उनले भने।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here