महाविद्यालयका प्राचार्य र प्राध्यापकहरूसँग अनित थापाको बैठक, शिक्षा सुधारमा जोड़

0
984

दार्जीलिङ, 25 सेप्टेम्बरः ‘‘आखिर दार्जीलिङ पहाड़का सरकारी विद्यालयमा कार्यरत् शिक्षक-शिक्षिकाहरूले आफ्ना छोरा-छोरीहरूलाई किन आफैले पढ़ाउने विद्यालयमा भर्ना गराउँदैनन्? कतै आफ्नो दक्षतामा आफैलाई विश्वास नलागेर यसो गरिएको त होइन?’’ आज जीटीए बीओएका अनित थापाले दार्जीलिङका विभिन्न महाविद्यालयका प्रमुखहरूसित भएको एक बैठकलाई सम्बोधन गर्दै यस्तो मत व्यक्त गरेका हुन्।

जीटीएको मुख्यालय लालकोठीमा आयोजित यस बैठकको मुख्य विषय वर्तमान समयमा दार्जीलिङ पहाड़का विभिन्न महाविद्यालयमा विद्यार्थीहरूको भर्ना समस्या थियो, जसलाई समाधान गर्नका लागि सबै महाविद्यालयका प्रमुखहरूको सुझाउ अनि सल्लाह आवश्यक रहेको कारण नै आज जीटीए बीओएका अध्यक्ष थापाले यो बैठक डाकेका थिए।

यसै सभालाई सम्बोधन गर्दै उनले दार्जीलिङ पहाड़को शिक्षा व्यवस्थालाई सुधार्नका लागि विशेष पहाड़का शिक्षक-शिक्षिकाहरूले नै प्रथम पहल गर्नुपर्ने अपील गरे।

उनले विगतमा विभिन्न देशका विद्यार्थीहरूका लागि शिक्षाको केन्द्र मानिएको दार्जीलिङ पहाड़का विद्यार्थीहरू वर्तमान समयमा अन्य स्थानतिर जाने गरेको बताए।

थापाले भने, “दार्जीलिङ पहाड़को शिक्षाको स्तर अझै पनि राम्रै छ जस्तो लागेको छ। यसबारे मलाईभन्दा बेसी यहाँका शिक्षक-शिक्षिकाहरूलाई नै थाह हुनपर्ने हो। तर, वर्तमान समयमा हर्नै हो भने प्राथमिक स्तरदेखि उच्चतरस्तरको शिक्षाको स्थिति नै खराब भएर गएको छ। मैले धेरै शिक्षक-शिक्षिकहरूलाई उनीहरूका छोरा-छोरी कहाँ पढ़्छन्? भन्ने प्रश्न गर्दा लगभग सय प्रतिशतबाट नै आफ्नै वा आफैले पढ़ाउने स्कूल वा प्राथमिक पाठशालामा पढ़्छन् भन्ने जवाब पाइनँ। आखिर किन यस्तो भइरहेको छ। कतै यहाँका शिक्षक-शिक्षिकाहरूलाई आफ्ना छोरा-छोरालाई अन्य शिक्षक-शिक्षिकाले पढ़ाएको नै उचित लाग्छ कि आफ्नोमा रहेको दक्षतामा आफैलाई विश्वास नलागेर हो? अब यहाँका प्रत्येक शिक्षक-शिक्षिका साथै आम मानिसहरूले पनि आफ्नो मानसिकतामा परिवर्तन ल्याउनुपर्छ अनि आफ्ना छोरा-छोरीहरूलाई दार्जीलिङ पहाड़मा नै पढ़ाउने वा पढ़्न लगाउने अवस्थाको सृजना गर्नुपर्छ।’’

उनले सन् 1986-को गोर्खाल्याण्ड आन्दोलनपछि दार्जीलिङ पहाड़को शिक्षा व्यवस्थामा नकारात्मक असर परेको बताउँदै अब यस स्थितिमा सुधार ल्याउनुपर्ने आह्वान गरे।

यसैबीच, थापाले हाल दार्जीलिङ पहाड़का महाविद्यालयहरूमा भइरहेको विद्यार्थी भर्नाको समस्या विषयबारे पनि भने, “महाविद्यालयहरूलाई सरकारले सीमित सिट दिएको छ। त्यो सत्य हो। तर, यसलाई कसरी बढ़ाउन सकिन्छ, यसका लागि सरकारबाट अनुमति ल्याउने कार्य गर्न आवश्यक छ। किनभने, यसपालि दार्जीलिङ पहाड़बाट बाहिर पढ़्ने विद्यार्थीहरू पनि दार्जीलिङ पहाड़मा नै पढ़्न चाहन्छन् अनि उनीहरूलाई यहाँ अध्ययन गर्ने अवसर प्रदान गर्ने जिम्मेवारी हामी सबैको हो।’’

यस विषयमा राज्य सरकारसित पनि आवश्यक कुराकानी गरिसकेको जानकारी पनि उनले गराए।

स्मरण गराइन्छ, हाल दार्जीलिङको विशेष सरकारी महाविद्यालयमा प्रथम वर्षमा भर्ना विषय निकै समस्या भइरहेको छ। जसको कारण गत केही दिनअघि यसै महाविद्यालयकी एक छात्राले स्थानीय विद्यार्थीहरूले यस महाविद्यालयमा भर्ना नपाएपछि उनीहरूको पक्षमा भोक हड़ताल पनि गरेकी थिइन्।

यसका साथै विनय तामाङपन्थी गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाले उत्तर बङ्गाल विश्वविद्यालयका उपकुलपतिसित भेट गरेर दार्जीलिङ सरकारी महाविद्यालयमा प्रथम वर्षमा सिट बढ़ाइदिने माग पनि गरेको छ।

विद्यार्थी मोर्चाले दार्जीलिङ सरकारी महाविद्यालयमा विभिन्न विषय गरी कुल 109 वटा सिट बढ़ाइदिने माग गरेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here