दार्जीलिङ, 26 सेप्टेम्बर: जीटीएले दार्जीलिङ पहाड़का चियाकमानवासीलाई उनीहरू बस्दै आएको जमीनको पर्जापट्टा दिलाउन सक्छ भन्ने क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-को श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स चियाकमान मजदूर युनियन (दातडुचिमयु)-लाई पटक्कै विश्वास लागेको छैन।
यसैले हाल जीटीए सञ्चालन गर्दै आइरहेको विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चा र यसको श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनद्वारा चियाकमानहरूमा गरिरहेको माइकिङ तथा प्रचार प्रसार केवल चुनावी स्टन्ट मात्रै नहोस् भन्ने पनि क्रामाकपाको श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स चियाकमान मजदूर युनियनका सचिव सुनिल राईले माग गरेका छन्।
उनले भने, “पर्जापट्टा दिलाउने कुरो मामुली विषय होइन। तर, गोजमुमो वा जीटीएले पर्जापट्टा दिलाइहाल्ने प्रकारका वक्तव्यहरू दिइरहेको छ। यदि साँच्चै चियाकमानका बासिन्दाहरूलाई उनीहरू बस्दै आएको घर-घड़ेरीको मालिकाना अधिकार दिने कार्य हुन्छ भने त्यसलाई सर्वप्रथम पटेका पड्काएर क्रामाकपाले स्वागत जनाउनेछ। किनभने, क्रामाकपाले आफ्नो स्थापनाकालदेखि नै पर्जापट्टाको माग गर्दै आइरहेको छ र यसका लागि सरकारलाई धेरैपल्ट पत्राचार पनि गरिसकेको छ।’’
यद्यपि चियाकमानवासीलाई उनीहरू बस्दै आएको जमिनको पर्चापट्टा दिनेबारे अहिलेसम्म पनि सरकारले त्यति ध्यान नदिएको पनि राईले बताए।
“वर्तमान समयमा गोजमुमो र गोजमुमोको श्रमिक सङ्गठनले चियाकमानहरूमा माइकिङ गर्दै पर्जापट्टा ल्याउने आश्वासन दिइरहेको छ’’, सुनिल राईले भने, “तर यो कुरा चुनाउअघि जनताको आँखामा धुलो हाल्ने प्रयास मात्रै नहोस्।’’
स्मरण रहोस्, विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाले बङ्गाल विधानसभा चुनाउअघि नै चियाकमानका बासिन्दाहरू वर्षौंदेखि बस्दै आएको घर-घड़ेरीको मालिकाना अधिकार वा पर्जापट्टा उनीहरूको नाममा दिलाउने वचन दिएको छ।
यसैले पार्टीले 6 वटा मुद्दालाई विशेष महत्त्व दिएर राजनैतिक कार्यक्रमहरू गरिरहेको छ।
गोजमुमोले पर्जा-पट्टा, दार्जीलिङ पहाड़को खण्ड विकास क्षेत्रहरूको पुनर्सीमाङ्कन गरी खण्ड विकास क्षेत्रको सङ्ख्या बढ़ाउनुपर्ने, दार्जीलिङ पहाड़ी क्षेत्रलाई लिएर एउटा संसदीय आसन बनाउनुपर्ने, विधानसभा आसनको वृद्धि गर्नुपर्ने जस्ता मुद्दालाई हातमा लिएको छ, जसमध्ये पर्जा-पट्टा विषय लिएर पार्टीले विभिन्न चियाकमानमा हाल प्रचार-प्रसार पनि गरिरहेको छ।