कालेबुङ, 30 सेप्टेम्बरः पछिल्लो लोकसभा चुनाउअवधि सङ्कल्प-पत्रमा उल्लिखित वाचा भाजपालाई याद दिलाउँदै आज क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले कालेबुङको मुटु मानिने डम्बर चोकमा माग प्रदर्शन गऱ्यो।
माग प्रर्दशन गर्नअघि क्रामाकपा कार्यकर्ताहरूले प्ला-कार्डहरू बोकेर पार्टी कार्यालयदेखि डम्बरचोकसम्मै मौन ऱ्यालीसमेत निकालेका थिए।
उनीहरूले बोकेका प्ला-कार्डहरूमा ‘वी वान्ट गोर्खाल्याण्ड’, ‘हाम्रो समर्थन राज्यको निम्ति मात्र हो’, ‘बहुसङ्ख्यक र पुञ्जीपतिको निम्ति कानून बनाउन सक्छौ; अल्पसङ्ख्यक गोर्खाको सुरक्षा खोई?’, ‘गोर्खाको सपना मेरो सपना भन्ने मोदीजी, हाम्रो सपना कहिले विपना हुने?’, ‘केन्द्र सरकार गोर्खाको माग पूरा गर’ र ‘हाम्रो केवल एउटै माग छुट्टै राज्य गोर्खाल्याण्ड’ आदि जस्ता नारा लेखिएका थिए।
यसैबीच पत्रकारहरूसँग कुराकानी गर्दै क्रामाकपा नेता किशोर प्रधानले क्रामाकपा छुट्टै राज्य गोर्खाल्याण्ड गठनका लागि गणतान्त्रिक र संसदीय ढङ्गमा सधैँ लड़िरहने बताए।
उनले क्रामाकपाका गठन नै भारतीय गोर्खाहरूका राष्ट्रिय चिनारी र राजनीतिक सुरक्षाका लागि भएकाले शुरूदेखि नै लगातार छुट्टै राज्य गोर्खाल्याण्डका लागि राजनीतिक आन्दोलनहरू गणतान्त्रिक ढङ्गमा गरिरहेको बताए।
प्रधानका अनुसार गोर्खाहरूको दीर्घलम्बित माग छुट्टै राज्य गोर्खाल्याण्डका लागि काम गर्छु भनेर भाजपाले धेरै वर्षदेखि भरोसा दिइरहेको कारण नै राज्यकै लागि क्रामाकपाले पछिल्लो चुनाउमा भाजपालाई सघाएको हो।
“तर हामीलाई लाग्दैछ, कता कता यो माग फत्ते हुन अब विलम्ब हुँदै जाँदैछ। विलम्ब मात्रै होइन यो मागलाई सत्ताको भुमरीभित्र हालेर चाहे डढ़ेलो लगाउने प्रचेष्टा पनि हुँदैछ कि भनेर क्रामाकपाले आत्माले भन्न थालेको छ”, उनले थपे, “छुट्टै राज्यले मात्र भारतीय गोर्खाहरूलाई मुक्ति दिन्छ भन्ने हाम्रो सैद्धान्तिक अड़ान छ। यसैले हामी भारतीय गोर्खाहरूलाई भरोसा दिन चाहन्छौँ- हामीलाई धोका दिने सरकार र राजनैतिक पार्टीहरू अघि आए तापनि ती षड़यन्त्रकारी शक्तिहरूलाई हामी परास्त गरेर हामी हाम्रो मागलाई फत्ते गर्ने दिशातर्फ जहिल्यै अग्रसर हुनेछौँ।”
उनले क्रामाकपाले गोर्खाल्याण्ड नभएसम्म हात बाँधेर नबस्ने दाबी गरे। यसैले लगातार आफ्नो मागलाई लिएर पार्टीले दिल्ली र दार्जीलिङ दुवै ठाउँमा लगातार कार्यक्रम गरिरहेको प्रधानको भनाइ छ।
“हामीलाई गणतान्त्रिक आन्दोलनमा विश्वास छ। दार्जीलिङमा अहिलेसम्म जति पनि आन्दोलनहरू भए, त्यसमा हजारौँले मान्छे मरे। हजारौँ घरविहीन भए। धेरैले पढ़न लेख्न पाएनन्। अहिले पनि पाँच हजार मानिस घरबाट विस्थापित भएका छन्। यसैले हामीलाई हिंसात्मक होइन तर गणतान्त्रिक र संसदीय आन्दोलनमा विश्वास छ”, क्रामाकपा नेता किशोर प्रधानले थपे, “पहाड़ले क्रामाकपाको इमानदारिता, क्रामाकपाको समर्पण, क्रामाकपाको सिद्धान्त र क्रामाकपाको संसदीय प्रणाली र गणतान्त्रिक आन्दोलनलाई विश्वास गरेर हामीलाई समर्थन गरेर सघाउँछ भने हामी हत्या हिंसा र आगजनीको विपरीतमा गणतान्त्रिक आन्दोलन गरेर गोर्खाल्याण्ड राज्य फत्ते गर्छौँ। किनभने हत्या हिंसा र आगजनीकै कारण विगतका आन्दोलनहरूबाट हामीले राज्य प्राप्त गर्न नसकेका हौँ।”
प्रधानका अनुसार हिंसात्मक बाटो समातेलगत्तै आन्दोलन दबाउन सत्तालाई सजिलो भइहाल्छ। अर्कोतिर उनले पहाड़का जनतालाई छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिका लागि गणतान्त्रिक ढङ्गमा सड़कमा उर्लिने आह्वान पनि गरे।