योगी राजको अन्यायविरुद्ध राजु बिष्ट किन बोल्दैनन्?-छिरिङ दाहाल

0
1029

दार्जीलिङ, 3 अक्टोबर: ‘हाथरसमा दुष्कर्मपछि मारिएकी मनिषा बाल्मिकी हाम्रै छोरी हुन्। मनिषा बाल्मिकीले न्याय पाउनु पर्छ’ भन्दै आज साँझ विनयपन्थी गोर्खा जनमुक्ति नारी मोर्चाले दार्जीलिङ, खरसाङ, कालेबुङ अनि मिरिकमा मैनबत्ती जुलूसको आयोजन गऱ्यो।

यसबारे गोर्खा जनमुक्ति नारी मोर्चा अध्यक्षा छिरिङ दाहालले भनिन्, “मनिषालाई न्याय दिलाउने यस अभियानमा सबैले सहयोग गर्न आवश्यक छ। देशले पनि देखोस्, पहाड़ न्यायको पक्षमा उभिएको छ। नारी सुरक्षा केवल नारा होइन, यो यथार्थमा आएको हुनुपर्छ। बेटी बचाओ केवल नारा होइन, बेटीको सुरक्षा खोई? भाजपाको सरकारमा नारा मात्र सुन्न पाइन्छ, यथार्थमा सबै शून्य छ।’’

उनले थपिन्, “बेटी बचाओको नारा सुन्दा मीठो लाग्छ। हो न हो भाजपाको मोदी सरकार देशका छोरीहरूको भविष्य अनि सुरक्षा गर्ने विषयमा गम्भीर छ। वास्तवमा बेटी बचाओ नारा भाजपाको एउटा चेताउनी मात्र थियो भन्ने आज स्पष्ट हुँदै जाँदैछ। भाजपा सरकारले जे भनेको थियो, त्यसको अर्थ तिम्रो घरका छोरी चेलीहरूलाई जोगाएर राख भन्ने थियो। भाजपाको सरकार रहेका राज्यहरूमा पुलिसले कुनै पनि छोरी, नारीको सुरक्षा दिन सक्दैन भन्ने भाजपाको भनाइ थियो। यसैले देशका छोरी-चेलीहरू असुरक्षित शासनको एक हिस्सा भएका छन्।’’

दाहालका अनुसार टीभी, सोशल मिडिया, रेडियो आदिमा भाजपा सरकारको महिमा मण्डल मात्र हुने गरेको छ।

“मनिषा बाल्मिकीको दुष्कर्म र हत्या एउटा उदाहरण मात्र हो। किशोरीको पहिला शारीरिक शोषण, त्यसपछि हत्या। शवलाई हिन्दू परम्परा अनि संस्कृतिअनुसार दाह संस्कारसम्म पनि गर्न दिइएन’’, छिरिङ दाहालले थपिन्, “परिवारजनसँग भेट्न राजनीतिक दलका शीर्ष नेताहरू अनि मिडियासम्मलाई जान रोक लगाइएको छ। के हामी साँच्चै गणतान्त्रिक देशकै बासिन्दा हौँ? हिन्दू धर्मको संरक्षक ठान्ने भाजपाले मनिषाको अन्तिम संस्कार पनि धर्म विधिअनुसार गर्न दिएन। वास्तवमा हिन्दू धर्म भाजपाको सरकारमा खतरामा छ, अल्पसङ्ख्यक भाजपाको शासनमा खतरामा छ।’’

दाहालका अनुसार गोर्खा समुदाय भारतीय अल्पसङ्ख्यक रहेकाले गोर्खाको अस्तित्व भाजपाको झण्डामुनि खतरामा जाँदैछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here