दार्जीलिङ, 4 सेप्टेम्बरः केन्द्र सरकारले आउँदो 7 अक्टोबरको दिन गोर्खाल्याण्ड विषयमाथि एक वार्ता डाकेको छ, जसमा भाग लिनका लागि गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष, सिंहमारी, नर्थ पोइण्ट, दार्जीलिङ, गृह सचिव पश्चिम बङ्गाल सरकार, दार्जीलिङका जिल्लापाल अनि जीटीएका मुख्य सचिवलाई बोलाइएको छ।
डाइरेक्टर सीएस-2 रेणु सरिनद्वारा जारी गरिएको यस पत्रमा आउँदो 7 अक्टोबरको बिहान 11 बजी नयाँ दिल्लीको नर्थ ब्लकको 119 नम्बर रूममा बैठक गरिने भएको उल्लेख गरिएको छ भने यसको अध्यक्षता केन्द्रिय गृह राज्यमन्त्री जी. किशन रेड्डीले गर्ने भएको पनि बताइएको छ।
गोजमुमो सिंहमारी नर्थ पोइण्टको सोझो अर्थ विमल गुरुङपन्थी गोजमुमोलाई यस वार्तामा बोलाइएको स्पष्ट भएको छ। किनभने, विमलपन्थी गोजमुमोको मुख्य कार्यालय सिंहमारी नर्थ पोइण्टमा अवस्थित छ भने हाल यो कार्यालय राज्य सरकारले आफ्नो अधीनमा लिएको छ।
विनय तामाङपन्थी गोजमुमोको मुख्य कार्यालय जज बजार दार्जीलिङमा अवस्थित छ, यसैले यस पत्रमा सिंहमारी लेखिएको कारण यस वार्तामा विमल गुरुङपन्थी गोजमुमोलाई नै बोलाइएको हो भन्ने स्पष्ट भएको छ।
यसबारे विनय तामाङपन्थी गोजमुमो दार्जीलिङ महकुमा समितिका अध्यक्ष आलोक कान्तमणि थुलुङसित सम्पर्क गर्दा उनले यसबारे पार्टीमा चर्चा गरेपछि मात्रै केही मन्तव्य गर्न सकिने बताए।
यद्यपि, गोर्खा राष्ट्रिय मुक्ति मोर्चा नेता अजय एड्वर्डले गोर्खाल्याण्ड विषयबारे बोलाइएको बैठकमा केवल गोर्खा जनमुक्ति मोर्चालाई मात्रै बोलाइएकोमा स्वयं हतप्रद भएको बताउँदै भने, “दार्जीलिङका सांसद राजु बिष्टले गोर्खाल्याण्डबारे वार्ता भए सबै पार्टीलाई बोलाउने बताएका थिए अनि विमल गुरुङपन्थी गोजमुमोले पनि यस्तै कुरा गरेको थियो। तर आज केवल एउटा पार्टीलाई मात्रै यस वार्तामा बोलाइएको छ।‘’
एक प्रश्नको उत्तरमा उनले भने, “एउटा पार्टीको नाम उल्लेख गरेर वार्तामा बोलाइसकेपछि जबर्जस्ती गर्न पनि मिल्दैन। पहिला जीटीएका लागि भनेर पत्र आएको थियो, अहिले गोर्खाल्याण्डका लागि नै भनेर वार्ता गरिने भएको छ। अब हेर्नुपर्छ, वार्ताको प्रतिफल के हुन्छ। तर दार्जीलिङ पहाड़का जनताले स्थायी राजनैतिक समाधान वा छैटौं अनुसूचीभन्दा सानो व्यवस्थालाई स्वीकार गर्ने छैनन्। उनीहरू वार्तामा गएर छैटौं अनुसूचीभन्दा सानो व्यवस्था चाहीं ल्याउनु हुँदैन।‘’