कालेबुङका अजित रोका पक्राउ, लोप्साङ लामाले भने – पुलिस एट्रोसिटी बन्द भए मात्र पहाड़मा गणतन्त्र र शान्तिको बहाली हुनेछ

0
1182
अजित रोका (फोटो साभार : फेसबुक)

कालेबुङ, 29 जनवरी : चुनाउको मुखमा राज्य सत्ताले चुनाउ हार्ने डरले विरोधी र विपक्षीहरूलाई पक्राउ गरी गणतन्त्रको हत्या गरिरहेको आरोप विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-का कार्यकारी अध्यक्ष लोप्साङ लामाले लगाएका छन्।

कालेबुङमा पक्रा परेका अजित रोकाको सन्दर्भबारे एक प्रेस विज्ञप्ति जारी गरी लामाले राज्य सरकारमाथि यस्तो आरोप लगाएका हुन्।

कालेबुङ पुलिसले पक्राउ गरेका अजित रोकालाई उनले गोर्खाल्याण्डका पक्षधर बताएका छन्।

लामाले बुधबार विज्ञप्तिमा लेखेका छन्, “उनी (रोका)  आमरण अनशन पनि बसेका गोर्खाल्याण्ड आन्दोलनका गान्धीवादी कार्यकर्ता हुन्, तर उनलाई वन विभागको कार्यालय जलाएको आरोपमा एउटा पुरानो केसमा आज पुलिसले पक्राउ गरेको छ। जबकि यतिका दिनसम्म उनी कालेबुङमा नै हुँदा पनि पक्राउ गरिएको थिएन।”

यसरी चुनाउको मुखमा पक्राउ गर्नु भनेको जनमानसमा आतङ्क सिर्जना गरेर आगामी चुनावी खेल खेल्ने निम्नस्तरको रणनीति हो भन्ने उनले बताएका छन्।

“भर्खरै मात्र दार्जीलिङको भ्रमणमा आएकी मुख्यमन्त्री ममता ब्यानर्जीले पहाड़मा शान्ति स्थापनाको कुरा गरेकी छन्। यदि साँच्चै पहाड़मा शान्ति ल्याउनु हो भने कथनी र करनीमा एकरूपता ल्याउनुपर्छ र पुलिसको अन्याय अत्याचारहरू बन्द हुनुपर्छ”, लामाले विज्ञप्तिमा थप लेखेका छन्, “र मात्र पहाड़मा गणतन्त्र र शान्तिको बहाली हुनेछ। यसका साथै मुख्यमन्त्रीले बोलेका सबै राजनीतिक विषयलाई उनले व्यावहारिक रूपमा उतार्नु पर्नेछ।”

उनले विज्ञप्तिमा थप लेखेका छन्, “पश्चिम बङ्गाल सरकारले यस्तो निकृष्ट राजनीतिलाई झट्ट बन्द गर्नुपर्छ। किनभने चुनाउ भनेको जनताको मन जित्ने अवसर हो, जनता तर्साउने होइन।”

उल्लेखनीय छ, पछिल्लो गोर्खाल्याण्ड आन्दोलनमा सहभागी भइ सरकारी सम्पत्तिलाई क्षति पुऱ्याएको आरोपमा कालेबुङ पुलिसले अजित रोकालाई पक्राउ गरेको छ। रोकालाई विमल गुरुङपन्थी मानिन्छ।

प्राप्त जानकारीका अनुसार उनलाई हिजो कालेबुङबाटै पक्राउ गरिएको हो भने आज कालेबुङ अदालतमा उभ्याइएको थियो। अदालतले उनलाई न्यायिक हिरासतमा पठाएको छ।

सूत्रका अनुसार रोकाविरुद्ध भारतीय दण्डसंहिताको धारा 436/448/34/ तथा 3/पीडीपीपी एक्टअन्तर्गत मुद्दा दर्ता गरिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here