दार्जीलिङ, 4 सेप्टेम्बरः केन्द्र सरकारले आउँदो 7 अक्टोबरका दिन गोर्खाल्याण्डसम्बन्धी डाकेको त्रिपक्षीय वार्ता गोर्खाल्याण्डकै लागि हो भन्ने कुरामा क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले शङ्का गरेको छ।
यदि बैठक गोर्खाल्याण्डसम्बन्धी हो भने छुट्टै राज्य गोर्खाल्याण्ड चाहने सबै दललाई बैठक निम्तो गरिनुपर्ने क्रामाकपा प्रवक्ता गोविन छेत्रीले बताए।
उनका अनुसार गोर्खाल्याण्ड चाहने सबै दललाई बैठकमा नबोलाएर केवल एउटै दललाई मात्र बोलाएको पनि क्रामाकपालाई बैठकमाथि शङ्का लागेको हो।
“गोर्खाल्याण्ड चाहने अन्य दलहरूलाई पर राखेर केवल एउटै दललाई मात्र बैठकमा बोलाउँदा ती दललाई अन्य व्यवस्थामा राजी हुन सत्तापक्षले बाध्य बनाउन सक्छ। यसैले क्रामाकपाले बैठकमाथि शङ्का गर्दछ”, क्रामाकपा प्रवक्ताले थप भनेका छन्, “तरै पनि हामी त्रिपक्षीय वार्तालाई स्वागत गर्छौं। विमल गुरुङपन्थी गोजमुमोले गोर्खाल्याण्डको मुद्दालाई बैठकमा प्रभावशाली ढङ्गमा उठाउन सक्नुपर्छ। साथै गोर्खाल्याण्डकै मुद्दामा अडिग बस्नुपर्छ। किनभने भारतीय गोर्खाहरू चाहेको गोर्खाल्याण्ड हो।”
यसैगरी बैठकमा गोर्खाल्याण्डको मुद्दालाई छोड़ेर अन्य मुद्दामाथि कुरा भने त्यो जनतालाई ठूलो धोका हुने र दुवैपक्षको नीयत पनि स्पष्ट हुने छेत्रीले थप बताएका छन्। “हामीले वर्षौंदेखि माग गर्दै आएको छुट्टै राज्य गोर्खाल्याण्ड हो। अहिलेसम्मको सङ्घर्ष नै यसैको लागि हो। यसैले गोर्खाल्याण्डबाहेक बैठकमा अन्य मुद्दामाथि कुरा हुनुहुँदैन”, उनले भनेका छन्।