दार्जीलिङ, 5 अक्टोबरः आउँदो 7 अक्टोबरको वार्तामा भाग लिन क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-का 2 जना प्रतिनिधि जानेछन्।
क्रामाकपालाई यस वार्तामा केन्द्र सरकारले होइन। तर, विमलपन्थी गोर्खा जनमुक्ति मोर्चाले निम्तो दिएको छ, जसलाई स्वीकार गर्दै क्रामाकपाले उक्त वार्तामा भाग लिने निर्णय लिएको छ।
वार्तामा क्रामाकपाको तर्फबाट केन्द्रिय समिति सदस्यद्वय शेखर छेत्री र किशोर प्रधानले भाग लिनेछन्।
स्वयं शेखर छेत्रीले आज यसबारे जानकारी गराए।
एक प्रश्नको उत्तरमा उनले भने, “यस वार्ताबारे दार्जीलिङका सांसद राजु बिष्टसित पनि कुरा भएको छ र सांसदले पनि वार्तामा भाग लिनका लागि क्रामाकपाका प्रतिनिधिहरूलाई आइदिने अपील गरेका छन्।‘’
यति मात्रै होइन, आउँदो 7 अक्टोबरको वार्तामा गोर्खाल्याण्डको विषय लिएर चर्चा हुन्छ/हुँदैन, त्यसमाथि दृष्टि राख्नकै लागि पनि क्रामाकपाले वार्तामा भाग लिने निर्णय लिएको उनले बताए। किनभने, एउटा पार्टी मात्रै वार्तामा बस्दा त्यसभित्र के कुरा हुन्छ बाहिर बस्ने पार्टी तथा जनतालाई थाहै नहुने छेत्रीको भनाइ छ।
“वार्ताबाट बाहिरिएको पार्टीका नेताहरूले जे भन्छन्, त्यसैमा विश्वास गर्नुपर्ने स्थिति आउँछ, त्यसैले यसपाली गोजमुमोले भए पनि यस वार्तामा भाग लिनका लागि क्रामाकपालाई निम्तो गरेको छ, यो क्रामाकपाको लागि मात्रै होइन, आम जनताका लागि पनि फाइदाजनक हुनेछ’’, उनले भने, “वार्तामा गोर्खाल्याण्डबाहेक अन्य विषयमा चर्चा भए, त्यसको क्रामाकपाले विरोध जनाउनेछ अनि मिडियामार्फत् त्यसको खुलासा गर्नेछ। क्रामाकपाका प्रतिनिधिहरू वार्तामा के हुन्छ, त्यसमाथि दृष्टि राख्नकै लागि पनि जानेछन्।’’