दार्जीलिङ, 7 अक्टोबरः गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले केन्द्र सरकारले गोर्खा जातिमाथि अवहेलना गरेको अनुभव गरिरहेको छ। तर अबउसो यस जातिमाथि यस्तो खेलाँची नगरियोस् भन्ने पनि पार्टीले केन्द्र सरकारलाई अपील गरेको छ।
आज गोरामुमो केन्द्रिय समितिको एक आपतकालीन बैठक भएको थियो, जसमा केन्द्र सरकारले आजको वार्ताबारे पठाएको पत्रबारे नै चर्चा भएको थियो।
यसबारे जानकारी गराउँदै गोरामुमो प्रवक्ता महेन्द्र छेत्रीले केन्द्रिय गृह मन्त्रालयले 48 घण्टाभित्र 7 अक्टोबरका दिन गरिने वार्ताबारे दुइवटा पत्र पठाएर सम्पूर्ण गोर्खा जातिलाई अन्योलमा पारेको बताए।
यसका साथै उनले गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले जीटीएको पहिलादेखि नै विरोध गरेको बताउँदै आजको वार्ताबाट नै जीटीएलाई खारेज गर्ने पहल शुरू होस् भन्ने चाहेको पनि बताए।
छेत्रीले भने “गोरामुमोले जीटीएको विरोध गरिरहेको छ, यसैले जीटीएको विषयमाथि भएको वार्तामा गोरामुमोले भाग लिने कुरै आएन। तर, यस वार्तामा भाग लिने केन्द्र सरकार र विमल गुरुङपन्थी गोजमुमोले जीटीएलाई खारेज गर्ने पहल पनि शुरू गर्नुपर्छ। किनभने, जीटीएमा सम्झौता गर्ने केन्द्र सरकार र विमल गुरुङपन्थी गोजमुमो हुन्। यसैले जीटीएलाई खारेज गरेर वर्ष 2021-अघि नै दार्जीलिङका लागि स्थायी राजनीतिक समाधानका लागि ठोस पहल अनि बैठक शुरू गरियोस्।’’