दार्जीलिङ नगरपालिकाका कर्मचारीहरूले 2017 –को आन्दोलनकालको रोकिएको वेतन पाउने

0
1058

दार्जीलिङ, 9 अक्टोबरः दार्जीलिङ नगरपालिकाका कर्मचारीहरूले 2017-को आन्दोलनकालको रोकिएको वेतन पाउने भएका छन्। यी कर्मचारीहरूले  क्रमैले 38 दिन र 60 दिनको रोकिएको वेतन पाउने भएका हुन्।

यसका लागि दार्जीलिङ नगरपालिका कर्मचारी सङ्गठनले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी, नगरपालिका विषयक मन्त्री फिरहाद हाकिमका साथै जीटीए बीओएका अध्यक्ष अनित थापा र गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङ आदिलाई धन्यवाद दिएको छ।

हिजो मात्रै राज्य सरकारबाट दार्जीलिङ नगरपालिकालाई एक ईमेल गरी दार्जीलिङ नगरपालिकाका कर्मचारीहरूको रोकिएको वेतन भुक्तान गर्ने निर्देश आएको नगरपालिका कर्मचारी सङ्गठनकी महासचिव दीपिका गुरुङले जानकारी गराइन्।

उनले भनिन्, “दार्जीलिङ नगरपालिकाका कर्मचारीहरूले आफ्ना 7 बुँदे माग लिएर गत केही साताअघिसम्म आन्दोलन गरिरहेका थिए। यसै विषय लिएर कर्मचारी सङ्गठनका प्रतिनिधिहरूले कलकत्ता गएर विभागका शीर्ष अधिकारीहरूसित पनि भेट गरेका थिए। यी कर्मचारीहरूको आन्दोलनलाई दार्जीलिङ हिल तृणमूल कङ्ग्रेस, विनय तामाङपन्थी गोजमुमोलगायत अन्य राजनैतिक पार्टीहरूले पनि सहयोग गरेका थिए। साथै गोजमुमो दोस्रो खेमा अध्यक्ष तामाङ र जीटीए बीओएका अध्यक्ष थापाले कर्मचारीहरूको समस्याबारे राज्यकी मुख्यमन्त्रीसित पनि कुरा राखेका थिए।’’

दार्जीलिङ नगरपालिका कर्मचारी सङ्गठनले नगरपालिकामा कार्यरत् अस्थायी वा दैनिक रोजीमा काम गर्ने कर्मचारीहरूलाई पे-व्याण्ड कर्मचारीको रूपमा बढ़ोत्तरी गर्नुपर्ने, 116 जना कर्मचारीको नोकरीलाई सरकारी अनुमोदन उपलब्ध गराउनुपर्ने साथै अन्य मागहरू पनि गरिरहेको थियो।

यसका लागि यी कर्मचारीहरूले दार्जीलिङ नगरपालिका कार्यालय परिसरमा नै रिले अनशन पनि गरेका थिए। यद्यपि, उनीहरूका विभिन्न मागमध्ये आन्दोलनकालको रोकिएको वेतन भुक्तान गरिने भएपछि कर्मचारी सङ्गठनले खुशी व्यक्त गरेको छ।

यद्यपि अन्य मागहरूका लागि आउँदो दिनमा आन्दोलन जारी रहने पनि सङ्गठनले बताएको छ।

यसबारे सङ्गठनका सहसचिव प्रणय शर्माले भने, “7 वटा मागमध्ये एउटा माग पूरा भएको छ, रहल 6 वटा मागका लागि 30 नोभेम्बरसम्मको समय दिएका छौं। यसमा दैनिक रोजीमा काम गर्नेहरूलाई स्थायी गराउनुपर्ने मागलाई प्राथमिकता दिएका छौं। दार्जीलिङ नगरपालिकामा 539 वटा पदमध्ये 212 वटा पद रिक्त छन्। यसमा नगरपालिकामा नै दैनिक रोजीमा कार्यरत् कर्मचारीहरूले काम पाउनुपर्छ।’’

उनका अनुसार अब दार्जीलिङ नगरपालिका प्रशासनले यी कर्मचारीहरूको समस्या बुझेर ठोस पहल गरिदिनुपर्छ। ताकि 1 दिसम्बरदेखि दार्जीलिङ नगरपालिका क्षेत्रको अत्यावश्यक सेवाहरू बाधित नहोस्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here