पहिलो दिन मिलेन बोनस दर, आज पनि बैठक जारी रहने

0
1255
दार्जीलिङको एक चियाकमानमा पत्ती टिप्दै श्रमिकहरू (फाइल फोटो)। 

दार्जीलिङ, 3 अक्टोबर : सधैँ दार्जीलिङमै हुने बैठक यसपटक सरेर कोलकाता पुगे तापनि पहाड़का चियाश्रमिकहरूले पाउने पूजा बोनस बुधवार पनि निर्धारित हुनसकेन। कोलकातामा आज भएको बैठकमा मालिकपक्ष र श्रमिक सङ्गठन आ-आफ्नै टेकमा अडिग रहेको कारण बैठक विफल बन्यो, जसको फलस्वरूप भोलि पनि यो बैठक जारी रहने बताइएको छ।
मालिकपक्ष पछिल्लो 105 दिने बन्दलाई देखाएर पहाड़का चियाश्रमिकलाई कम्तीभन्दा कम्ती बोनस दिने पक्षमा छ। यसको विपरीत श्रमिक सङ्गठनहरू 20 प्रतिशत नै बोनस दिनुपर्ने मागमा अडिग छ। उल्लेखनीय कुरा के छ भने पछिल्लो 23 सेप्टेम्बरको दिन बसेको बैठकले तराई-डुवर्सका चियाकमानहरूमा 19.50 प्रतिशतले बोनस दिने निर्णय भइसकेको छ। यसै निर्णयअनुसार तराई-डुवर्सका प्रायः सबै चियाकमानमा बोनस वितरण गरिसकिएको छ। यद्यपि पहाड़मा अहिलेसम्म बोनस दरको अत्तोपत्तो छैन।
105 दिने बन्द र 8.33 –को अड़ान
दार्जीलिङ टी एसोसिएशन (डीटीए) -ले पछिल्लो 105 दिने बन्दको ठूलो बहाना पाएको छ। डीटीए  दार्जीलिङ पहाड़का धेरजसो मालिक कमानका मालिकहरूको सङ्गठन हो। पछिल्लो आन्दोलनको कारण ठूलो घाटा भएको डीटीएको तर्क छ। यसैले यो घाटाकै कारण यसवर्ष 1965-को बोनस एक्टअनुसार 8.33-को दरभन्दा धेरै बोनस दिननसक्ने डीटीएले बताइरहेको छ। र आजको बैठकमा पनि डीटीए यसै अड़ानमा अडिग बसेको थियो। 8.33 प्रतिशतको दरले बोनस दिनसक्ने र यसका लागि मोलतोल गर्न पनि नसक्ने भन्दै डीटीएका सचिवले केही दिनअघि राज्यका श्रममन्त्रीलाई पत्राचार गरेका थिए। यो पत्रको प्रतिलिपि पहाड़का सबै श्रमिक सङ्गठनलाई पठाइएको थियो। यद्यपि डीटीएको यो निर्णयलाई पहाड़का श्रमिक सङ्गठनहरूले सोझै खारेज गर्दै 20 प्रशितभन्दा कम्ती दरको बोनस स्वीकार नगर्ने निर्णयमा अडिग बसेका छन्।
20 प्रतिशतको माग र एकबद्ध श्रमिक सङ्गठन
20 प्रतिशत माग गरिरहेका श्रमिक सङ्गठनहरू एकबद्ध भई आफ्नो मागमा अडिग बसेका छन्। आज पनि दार्जीलिङ पहाड़का सबै श्रमिक सङ्गठनले पहाड़का चियाश्रमिकहरूलाई 20 प्रतिशतको दरले नै बोनस दिनुपर्ने माग राखेका थिए। उनीहरू 20 प्रतिशतभन्दा कम्ती दरको बोनसलाई स्वीकार गर्ने पक्षमा देखिएका छन्। र 105 दिने बन्दले मालिकपक्षलाई व्यापक घाटा भएको दाबी यी श्रमिक सङ्गठनहरूको उक्तिसङ्गत मान्दैनन्। आन्दोलन राजनीतिक दलले गरेकोले यसमा श्रमिकको कुनै हात नरहेको तथा आन्दोलनअवधि मालिकवर्गलाई भन्दा धेरै नोक्सान चियाश्रमिकहरूले खपेको यी श्रमिक सङ्गठनहरूको भनाइ छ।
गेटसभा स्थगित
कोलकातामा बोनस बैठक चलिरहेकोले पहाड़का चियाकमानहरूमा भइरहेको गेटसभालाई स्थगित गरिएको छ। गेटसभालाई स्थगित गर्ने निर्णय सामूहिक रूपमा लिइएको हो। बैठक र आन्दोलन हुननसक्ने भएकोले नै गेटसभालाई स्थगित गरिएको हो। स्मरणरहोस्, 20 प्रतिशतको दरले बोनस दिनुपर्ने मागमा पहाड़का विभिन्न दलहरूको श्रमिक सङ्गठनको छाता एकाइ जोइन्ट फोरम र गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-को श्रमिक सङ्गठन दार्जीलिङ तराई-डुवर्स प्लाण्टेशन लेवर युनियन (डीटीडीपीएलयु) -ले छुट्टा छुट्टै गेटसभाको आयोजन गर्दै आएको छ। उल्लेखनीय छ, जोइन्ट फोरम र डीटीडीपीएलयुबीच अहिलेघरी 36-को आँकड़ा देखिएको छ। पछिल्लो न्यूनतम रोजवृद्धिको आन्दोलनदेखि जोइन्ट फोरम र डीटीडीपीएलयूबीच 36 –को आँकड़ा देखिएको हो। पछिल्लो केही समययता धेरै अवसरमा यी दुईबीच आरोप प्रत्यारोप छ चल्नेगरेको छ। यद्यपि बोनस विषयबारे भने अहिलेसम्म जोइन्ट फोरम र डीटीडीपीएलयूले एक्यबद्धता देखाएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here