भोलेन्टियर टिचर्सको स्थायीकरणको प्रक्रिया निष्पक्ष होस्: तृणमूल कङ्ग्रेस

0
1034

दार्जीलिङ, 12 अक्टोबरः दार्जीलिङ हिल तृणमूल कङ्ग्रेसले दार्जीलिङ पहाड़मा भइरहेको भोलेन्टियर शिक्षक-शिक्षिकाहरूलाई स्थायी बनाउने प्रक्रिया पूर्णरूपले निष्पक्ष होस् भन्ने माग गरेको छ।

आज यसै विषय लिएर राज्यसभा सांसद शान्ता छेत्री र तृणमूल कङ्ग्रेस दार्जीलिङका समन्वयक एनबी खवासले जीटीएका मुख्य सचिव सुरेन्द्र गुप्तसित भेट गरे, जसमा उनीहरूले हाल दार्जीलिङ पहाड़ वा जीटीए क्षेत्रका विभिन्न उच्च विद्यालयमा भइरहेको भोलेन्टियर टिचर्स नियुक्ति प्रक्रियामा कुनै प्रकारको भाइ-भतिजावाद नहोस् अनि सक्षम उम्मेद्वारहरूले नै काम पाओस् भन्ने माग गरेको बताएका छन्।

यसबारे राज्यसभा सांसद वा तृणमूल कङ्ग्रेस नेतृ शान्ता छेत्रीले भनिन्, “भोलेन्टियर शिक्षकहरूको स्थायीकरणको लागि जीटीएले एक निरीक्षण कमिटीको गठन गरेको छ, जसले भोलिदेखि जीटीए क्षेत्रका विभिन्न विद्यालयमा भोलेन्टियरका रूपमा कार्यरत् शिक्षक-शिक्षिकाहरूको निरीक्षण गर्ने भएको छ। यसैले यस निरीक्षणमा सही उम्मेद्वारहरूमाथि कुनै अन्याय नहोस् भन्ने माग लिएर नै आज हामी जीटीएका मुख्य सचिवसित कुरा गर्न लालकोठी आएका हौं। किनभने, पहिला पनि धेरै वर्षदेखि भोलेन्टियर शिक्षकको रूपमा काम गर्ने उम्मेद्वारहरूले काम पाउन सकेनन्, यसैले यसपालि पनि यस्तो नहोस् भनेर नै जीटीएका मुख्य सचिवसित हामीले भेट गरेका हौँ।

अहिले पनि जीटीए क्षेत्रका धेरैवटा विद्यालयमा विगत 5, 10, 15 वर्षदेखि भोलेन्टियर शिक्षक-शिक्षिकाको रूपमा काम गरिरहेका छन्। यस्ता शिक्षक-शिक्षिकाहरूले न्याय पाउनुपर्छ भन्ने तृणमूल कङ्ग्रेसको मूल माग रहेको पनि छेत्रीले थप बताइन्।

यसरी नै दार्जीलिङ हिल तृणमूल कङ्ग्रेसका समन्वयक एनबी खवासले भने, “विगतमा पनि धेरैजना सही भोलेन्टियर शिक्षक-शिक्षिकाहरूले न्याय पाउन नसकेको इतिहास आलै छ। त्यस समय धेरैजनाले उजुरी पनि गरेका थिए। वर्तमान समयमा पनि दार्जीलिङ पहाड़मा धेरै दक्ष वा शिक्षित बेरोजगार युवाहरू छन्, उनीहरूले पनि उचित काम पाउन सकेका छैनन्। यसैले यस्ता शिक्षित बेरोजगार युवा-युवतीहरूलाई पनि न्याय प्रदान गर्न दार्जीलिङ पहाड़मा पुनः स्कूल सर्भिस कमिशन (एसएससी) शुरू गर्नुपर्ने पनि माग गरिएको छ।’’

उनले थपे, “पछिल्लो लोकसभा चुनाउअघि जीटीएले प्राथमिक शिक्षक नियुक्तिका लागि आवेदनको आह्वान गरेको थियो, जसमा हजारौं युवक-युवतीले आवेदन गरेका छन्, तर त्यसको अहिलेसम्म पनि अन्तर्वार्ता भएको छैन।’’

यसमाथि पनि जीटीएले शीघ्र ठोस पहल गर्नुपर्ने तृणमूल कङ्ग्रेसले माग गरेको खवासले बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here