सिलगढ़ी, 12 अक्टोबरः पछिल्लो 7 अक्टोबरका दिन दिल्लीमा विमल गुरुङपन्थी गोजमुमो र केन्द्र सरकारबीच बसेको बैठकलाई उल्लेख गर्दै दार्जीलिङका सांसद एवं भाजपाका राष्ट्रिय प्रवक्ता राजु बिष्टले दार्जीलिङ, तराई अनि डुवर्सको राजनीतिक समाधानको प्रक्रिया शुरू भइसकेको दावी गरेका छन्।
आज सिलगढ़ीमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन्। यसका साथै बैठकमा भाग नलिएकाले बिष्टले राज्य सरकारको आलोचना पनि गरे।
सङ्कल्प-पत्रमा गोर्खाहरूलाई दिएको वाचा पूरा गर्न भारतीय जनता पार्टी पूर्ण प्रतिबद्ध रहेको दावी दोहोऱ्याउँदै उनले भने, “मैले 2019 -को लोकसभा चुनाउदेखि आजसम्म लगातार भन्दै आइरहेको छु, दार्जीलिङ पहाड़, तराई अनि डुवर्सको स्थायी राजनीतिक समाधान गर्नका लागि भारतीय जनता पार्टी प्रतिबद्ध छ। साथै गोर्खा समुदायका 11 जातगोष्ठीलाई जनजातिको मान्यता दिनका लागि प्रतिबद्ध छ। पार्टीका प्रवक्ता, सांसद र म आफै पनि गोर्खापुत्र हुनका नाताले म स्पष्टसँग भन्नचाहन्छु, यी दुवै मुद्दाको समाधान अवश्यै हुनेछ। चाँड़ै हुनेछ। यस दिशामा केन्द्रीय गृह मन्त्रालयले एउटा बैठक डाकिसकेको छ।”
बिष्टले बैठकको शुरूआत भएकाले आउँदो दिनमा स्थायी राजनीतिक समाधान चाँड़ै र पक्कै हुने पनि दोहोऱ्याए।
यसैबीच, उनले तृणमूल कङ्ग्रेस कहिल्यै गोर्खाहरूप्रति इमान्दार नरहेको पनि ठोकुवा गरे। साथै गोर्खाल्याण्डको मुद्दामा तृणमूल कङ्ग्रेसले दुइमुखे राजनीति गरिरहेको बताए।
“तृणमूल कङ्ग्रेस सिलगढ़ीमा छ र दार्जीलिङमा पनि छ। जब म दार्जीलिङ जान्छु, तब दार्जीलिङ पहाड़का तृणमूल नेताहरूले ‘गोर्खाल्याण्ड खोई? भाजपाले गोर्खाल्याण्ड किन दिँदैन?’ भनेर सोध्नेगर्छन्। फेरि सिलगढ़ीमा हेर्नुस्, त्यही तृणमूल कङ्ग्रेसका कार्यकर्ता भन्छन्, ‘भाजपाले गोर्खाल्याण्ड किन दिँदैछ?’ यसैले यसलाई लिएर तृणमूल कङ्ग्रेसले कसरी राजनीतिकरण गर्दैछ, स्पष्ट छ। आज होइन, पछिल्लो 10 वर्षदेखि यस्तै राजनीति गर्दै आएको छ। मलाई थाहा छ, भविष्यमा पनि यस्तै राजनीति गर्नेछ। तर म तपाईंहरूलाई यति स्पष्टसँग भन्नसक्छु, स्थायी राजनीतिक समाधानको थालनी भइसकेको छ। एउटा बैठक बसिसकेको छ। आउँदो समयमा पनि चाँड़ै बैठक हुनेछ। हाम्रो पार्टीले सङ्कल्प-पत्रमा जे जति वाचा गरेको छ, सबैको समाधान भइरहेको छ। यसको पनि चाँड़ोभन्दा चाँड़ो समाधान हुनेछ।’’
अर्कोतिर, सांसद बिष्टले सधैँझैँ यसपटक पनि जीटीए-2 चलाइरहेका विनयपन्थी गोजमुमोका नेतृत्वहरूमाथि तीखो शब्दमा कटाक्ष गरे। साथै जीटीए-2 मा विकासको सट्टा व्यापक भ्रष्टाचार भइरहेको आरोप लगाए।
“जीटीए चलाउनेहरू हवाइ चप्पलमा घुम्थे, अहिले ठूल्ठूला बोलेरोमा गाड़ीमा घुम्दैछन्। यी सबै पैसा कहाँबाट आयो?”, बिष्टले थपे, “आजसम्म कुनै सरकारले कुनै बोर्डलाई चेक काटेर 175 करोड़ दिएको कसैले देखेका छन्? यी सबै झूटो हो। मलाई लाग्छ, पुरानो पैसा दिन थाँतीमा थियो होला र भटाभट घोषणा गरेर दिने कार्य गरियो।”
यसैगरी उनले जीटीएमा कार्यरत् अस्थायी कर्मचारीहरूको मुद्दालाई पनि उठाए।