गान्तोक, 13 अक्टोबरः राज्यका मुख्यमन्त्री पीएस गोलेले मङ्गलबार किशोर-किशोरीहरूका लागि ‘The Birds and Bees Talk’ नामक एउटा अद्वितीय जीवन कौशल कार्यक्रमको शुभारम्भ गरेका छन्।
Reckitt Benckiser’s flagship Dettol ‘Banega Swasth India’ र Primus partners-को साझेदारीमा आरम्भ गरिएको यस कार्यक्रम 10 वर्षदेखि 19 वर्षसम्मका विद्यार्थीहरूका लागि तयार गरिएको छ।
मुख्यमन्त्री गोलेले किशोर-किशोरीहरूका लागि छुट्टै प्रकारको जीवन कौशल प्रशिक्षण मोड्युलको शुभारम्भ र परिचय गराउन पाउनु गर्वको विषय रहेको बताए।
विद्यार्थीहरूको जीवनलाई रूपान्तरण गर्ने आफ्नो सरकारको विशेष उद्देश्य रहेको बताउँदै उनले यो कार्यक्रम भविष्यको नेतृत्वका लागि उत्तम र विद्यार्थीको उज्ज्वल भविष्यका लागि बहुमूल्य साबित हुने बताएका छन्।
यस कार्यक्रमको अधिकतम पहुँच सुनिश्चित गर्न सिक्किमका सरकारी तथा निजी विद्यालयहरूमा कार्यान्वयन गरिने पनि गोलेले बताए।
आफ्नो सरकारको सुधारवादी शिक्षा नीतिका कारण सम्पूर्ण पूर्वोत्तर क्षेत्रमा नै यो कार्यक्रम शुरुआत गर्ने सिक्किम आदर्श राज्य रहेको पनि उनले दाबी गरेका छन्।
यस कार्यक्रमले यसको विस्तृत पाठ्यक्रमका साथ सिक्किमका विद्यार्थीको ज्ञान, चेतना र व्यवहार सुधारमा सहयोग पुऱ्याउनेछ भन्ने पनि मुख्यमन्त्रीले विश्वास व्यक्त गरेका छन्।
विशेष गरी राष्ट्रिय पाठ्यक्रम रूपरेखा र हालै घोषणा गरिएको नयाँ शिक्षा नीति 2020 को पाठ्यक्रमका आधारमा यो जीवन कौशल पाठ्यक्रमको डिजाइन भएको मुख्यमन्त्रीले अवगत गराएका छन्।