हत्यारा पदम सुब्बालाई फाँसीको सजाय

0
1538

दार्जीलिङ, 14 अक्टोबरः अन्ततः 50 वर्षीया माया सुब्बा र उनकी 13 वर्षीय छोरी प्रज्ञा सुब्बालाई निर्मम हत्या गर्ने नयाँ नोर बस्तीनिवासी 43 वर्षे पदम सुब्बाविरुद्ध आज (बुधबार) दार्जीलिङ सेशन अदालतले फाँसीको सजाय सुनायो।

आजभन्दा 3 वर्षअघि पदम सुब्बाले माया सुब्बा र बालिका प्रज्ञा सुब्बाको निर्मम हत्या गरेका थिए। दोष प्रमाणित भएपछि उनीविरुद्ध आज फाँसी सजाय सुनाइएको दार्जीलिङ जिल्ला अदालतका पीपी (पब्लिक प्रोजिक्यूटर) प्रणय राईले जानकारी गराएका छन्।

राईले दिएको जानकारीका अनुसार, 2 सेप्टेम्बर 2017-का दिन माया सुब्बाका छोरा असम राइफल्सका जवान सुमित लिम्बू आफ्नो छुट्टी पूरा गरी ड्यूटीमा फर्किरहेका थिए। त्यस समय दार्जीलिङ पहाड़मा 105 दिनको बन्द चलिरहेको थियो। यसैले आफ्नो ड्यूटी फर्किनका लागि उनले जलपहाड़ सेना छाउनीमा आएर गाड़ीको व्यवस्था गरेका थिए।

जलपहाड़बाट उनी अघि बढ़िरहेका थिए, त्यसै समय उनका छिमेकी काका डम्बर सुब्बाले सुमितलाई आमा र बहिनीको हत्या भएको खबर दिए। सुमित आफ्नो ड्युटी जानको सट्टा घर फर्किए, जहाँ उनले आफ्नी आमा र बहिनीको लाश लड़िरहेको देखे।

पीपी प्रणय राईले भने, “सुमितकी आमा माया सुब्बा र बहिनी प्रज्ञा सुब्बाको 1 सेप्टेम्बर 2017-को राति नै हत्या भएको थियो, जसको साक्षी डम्बर सुब्बाले अदालतमा प्रस्तुत गरेका छन्। 1 सेप्टेम्बर 2017-को मध्य राति मायाको घरबाट चिच्याएको आवाज आएको थियो। कोही चिच्याएको सुन्नसाथ डम्बर आफ्नी पत्नीसित बाहिर निस्किए अनि मायाको घरतिर गए। घरबाहिर डम्बरले पदम सुब्बा हातमा बम्फक बोकेर कुदिरहेका थिए। त्यसपछि घरभित्र हेर्दा उनले माया सुब्बाको लाश लड़िरहेको देखे। यसपछि गाउँलेहरूको सहयोगमा खोज-तलाश गर्दा 13 वर्षीया बालिका प्रज्ञाको लाश पनि पाइखाना छेउमा लड़िरहेको भेटिएको थियो। यसपछि लगत्तै पुलिसमा खबर पुगेपछि पुलिसले पदमलाई पक्राउ गरेको थियो भने आज यसमाथि अन्तिम सुनवाई थियो। जसमा सबै साक्षीको बयान सुनेपछि पदम सुब्बा दोषी प्रमाणित भए अनि उनविरुद्ध फाँसीको सजाय सुनाइयो।

उनका अनुसार यस घटनामा 18 जना साक्षी थिए।

राईले थप जानकारी गराएअनुसार, माया सुब्बाको शरीरमा 6 वटा अनि प्रज्ञा सुब्बाको शरीरमा 5 वटा गम्भीर चोट थिए। माया सुब्बाको टाउको, पाखुरा, काँध आदिमा बम्फकले निर्ममतापूर्वक प्रहार गरिएको थियो भने प्रज्ञा सुब्बाका औंलीहरू पनि काटिएका थिए।

ज्ञात रहोस्, पदम सुब्बा माया सुब्बाकै घरमा गाई बस्तुलाई घाँस काटिदिने, दाउरा आदि गरिदिने काम गरिदिने सहयोगी जस्ता थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here