दार्जीलिङ, 16 अक्टोबरः गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) नेता एवं एड्वर्ड फाउण्डेशन प्रमुख अजय एड्वर्डले सिङ्ला चियाकमानको 5 नम्बरमा रहेको पानीको समस्या समाधान गरिदिने वचन दिएका छन्।
यति मात्रै होइन, एड्वर्डले यस गाउँमा रहेका कतिपय बिरामीलाई आर्थिक सहयोग दिनका साथै कतिजनालाई उपचारका लागि अस्पतालमा लाग्ने खर्च बेहोर्ने वचन पनि दिएका छन्।
उनले आज (शुक्रबार) तकभर समष्टिमा पर्ने सिङ्ला चियाकमानको परिभ्रमण गरेका थिए, जहाँ उनले केही आक्रोशित मानिसको आक्रोशको पनि सामना गर्न परेको थियो।
यी मानिसहरूको भनाइ छ-अजय एड्वर्डले सामाजिक कार्य गरिरहेका छन्, त्यो अति नै सराहनीय छ। यसप्रकारको कार्यलाई सबैले नै स्वागत गर्छन् अनि सहयोग पनि गर्नेछन्। तर सामाजिक कार्यको नाममा राजनीति नगरून्। अजय एड्वर्डहरू आएका गाड़ीहरूमा गोरामुमोका झण्डाहरू लगाइएको थियो। सामाजिक कार्यको नाममा राजनीति गरेर सिङ्ला चियाकमानमा अशान्ति सृजना नगरोस् भन्ने यहाँका जनताको चाहना हो। यसैकारण नै यहाँका मानिसहरूले अजय एड्वर्डहरूको पहलको विरोध गरेका हुन्।
उनीहरूले थप भनेका छन्, “सिङ्ला चियाकमान विभिन्न समस्याबाट ग्रस्त छ। तर यहाँ राजनीति गरेर यहाँका मानिसहरूको पीड़ामा नुन छर्किने काम हुनथालेको छ।’’
सिङ्ला चियाकमानवासी जनताको पक्षबाट अञ्जय सुब्बाले भने, “हामीलाई एड्वर्ड फाउण्डेशनको कार्यक्रममा कुनै आपत्ति थिएन, छैन अनि भविष्यमा पनि हुनेछैन। तर, फाउण्डेशनको नाममा झुक्याएर गोरामुमो पार्टीको सभा गर्नु सरासर गलत हो। यसैले आज सिङ्लाका सबै जागरूक जनताको विरोधको सामना गरेपछि गोरामुमो नेता एड्वर्ड दार्जीलिङ शहरतिर फर्किनु पऱ्यो।’’
उनले थपे, “अजय एड्वर्ड अनि उनको फाउण्डेशनले सामाजिक कार्यहरू गरोस् राम्रो हो, तर फाउण्डेशनको नाममा राजनीति नगरोस्। राजनीति गर्छ भने राजनीति गरोस्, तर यसरी सामाजिक कार्यको नाम गरेर जनतालाई झुक्याएर राजनीति नगरोस्।’’
यसैबीच, गोरामुमोका मिडिया सेल प्रभारी दिनेश साम्पाङले एक विज्ञप्ति जारी गर्दै आज गोरामुमो दार्जीलिङ शाखा अध्यक्ष अजय एड्वर्डले सिङ्ला चियाकमानको भ्रमण गरेको बताएका छन्।
आफ्नो भ्रमण कार्यक्रमअवधि एड्वर्डले गाउँका जनताको घर-दैलोमा पुगेर वृद्ध-वृद्धाहरूसँग भेट गरी उनीहरूको हालखबरको जानकारी लिएको पनि साम्पाङले बताएका छन्।
यसै क्रममा बिमारी अवस्थामा रहेका अनि आर्थिक स्थिति कमजोर रहेका बिमारीहरूलाई उपचारका लागि आर्थिक सहयोग पनि गरेका छन् साथै बिरामीहरूलाई अस्पतालमा लगेर उपचार पनि गराउने वचन दिएका छन्।
यसअवधि एड्वर्डले भने, “भारत स्वतन्त्र भएको 75 वर्ष भइसक्दा पनि सिङ्ला चियाकमानको 5 नम्बरधुराका मानिसहरू पानीको समस्याबाट पीड़ित बन्न परिरहेका छन्। यहाँका मानिसहरू डेढ़ किलोमिटर पैदल यात्रा गर्दै पानी ल्याउनुपर्ने अवस्थामा छन्। यसैले मैले पानीका स्रोतहरूको स्थलगत भ्रमण गरेको छु। अब चाँड़ै यो गाउँसम्म पानी पुर्याउनका लागि ठोस कार्य गर्नेछु।’’
सिङ्ला भ्रमणको क्रममा गोरामुमो केन्द्रिय सदस्य एमजी सुब्बा, गोरामुमो दार्जीलिङ शाखाका कार्यकारी सदस्य किशोर गुरुङ, एचपीडब्ल्यूयू केन्द्रिय महासचिव एसके लामा, गोरामुमो दार्जीलिङ टाउन कमिटीका अध्यक्ष रोबर्ट छेत्री, सचिव गोपाल परियार साथै गोरामुमोका कार्यकर्ताहरू सामेल थिए।