जीटीए बोर्ड अव् प्राइमेरी एडुकेशन बनाउने दिशामा कार्य भइरहेको छः केशवराज पोख्रेल

0
1324

दार्जीलिङ, 16 अक्टोबरः गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए) र विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाले जीटीएभित्र जीटीए बोर्ड अव् प्राइमेरी एडुकेशन बनाउने दिशामा कार्य गरिरहेको गोजमुमो प्रवक्ता केशवराज पोख्रेलले आज बताए।

उनले भने, “प्राथमिक शिक्षकहरूका लागि बङ्गालभित्र रहेको पश्चिम बङ्गाल प्राइमेरी बोर्ड अव् एडुकेशनजस्तै जीटीएमा पनि जीटीए बोर्ड अव् प्राइमेरी एडुकेशन भए यहाँका प्राथमिक शिक्षक-शिक्षिकाहरूलाई धेरै फाइदा पुग्नेछ। पश्चिम बङ्गाल प्राइमेरी बोर्ड अव् एडुकेशन एक उच्चस्तरीय पोलिसी मेकिङ बडी हो। यसैले जीटीए बोर्ड अव् प्राइमेरी एडुकेशन भए शिक्षकहरूसित सम्बन्धित सबै विषयको निर्णय लिने क्षमता यसमा हुनेछ।‘’

उनका अनुसार यस्तो भएपछि पेन्शन, रिटायरमेन्ट, नयाँ नियुक्ति सबैको निर्णय गर्ने क्षमता पहाड़मा नै हुनेछ, जो शिक्षकहरूका लागि अति नै महत्त्वपूर्ण रहनेछ।

यस विषयमा गोर्खा जनमुक्ति मोर्चा अनि जीटीएले कार्य गरिरहेका पोख्रेलले बताएका छन्।

आज रङ्बुल सार्वजनिक भवनमा भएको सभालाई सम्बोधन गर्ने क्रममा नै पोख्रेलले भने, “जीटीए बोर्ड अव् प्राइमेरी एडुकेशनभित्र दार्जीलिङ र कालेबुङ जिल्ला प्राइमेरी काउन्सिल पनि हुनेछ।’’

उनले थपे, “दार्जीलिङ पहाड़मा प्राथमिक शिक्षकहरूले गोरामुमोको समयदेखि नै राजनैतिक पार्टीहरूलाई सहयोग पुऱ्याउँदै आइरहेका छन्। तर उनीहरूलाई राजनैतिक पार्टीहरूले केवल आफ्नो स्वार्थका लागि मात्रै प्रयोग गरिरहेका छन्। गोरामुमोको समय पीटीओ (प्राइमेरी टिचर्स अर्गनाइजेशन) थियो, जुन 21 वर्षसम्म रह्यो। वर्ष 2007-देखि 2017-सम्म जीपीटीओ (गोर्खा प्राइमेरी टिचर्स अर्गनाइजेशन) भयो। त्यसताकका शिक्षक एसोसिएशनहरूले गोर्खाल्याण्ड माग्ने दलहरूलाई सक्दो सहयोग गरेका हुन्। तर, शिक्षक-शिक्षिकाहरूका लागि नयाँ कुरा केही भएन। शिक्षकजस्तो गरिमामय पेशामा हुनेहरूलाई केवल राजनैतिक दलहरूले प्रयोग गर्ने मात्र कार्य गरे। यसैले गोर्खा जनमुक्ति मोर्चाको नयाँ सोच र नयाँ विचारअनुरूप प्राथमिक शिक्षकहरूका लागि जसरी बङ्गालभित्र पश्चिम बङ्गाल प्राइमेरी बोर्ड अव् एजुकेशन छ, त्यसरी नै जीटीएभित्र जीटीए बोर्ड अव् प्राइमेरी एडुकेशन बनाउने पहल भइरहेको छ।’’

आज हिल तराई प्राथमिक शिक्षक एसोसिएशनको एक सभा रङबुल सार्वजनिक भवनमा एसोसिएशनका अध्यक्ष केसाङ लामाको अध्यक्षता सम्पन्न भएको थियो, जसमा पर्यवेक्षकका रूपमा गोर्खा जनमुक्ति मोर्चा केन्द्रिय समिति साङ्गठनिक सचिव एलएम लामा, प्रवक्ता केशवराज पोख्रेल, केन्द्रिय नेता महेन्द्र प्रधान, समीरदीप ब्लोन, दावा तामाङको प्रमुख उपस्थिति रहेको थियो।

सभामा हिल तराई प्राथमिक एसोसिएशनका अध्यक्ष मिरेन लामा, उपाध्यक्ष सन्तोष थापा, गिदोन राई, सोनाम काबो, महेश प्रधान, महासचिव पूर्णबहादुर राई, सहसचिव मुन्ना पाख्रिन, नोमी लेप्चा, प्रकाश राई, शरद राई, कोषाध्यक्ष योजना शेर्पा, कानुनी सल्लाहकार अमृत मादेन, प्रचार प्रसार सचिव प्रकाश हाङ्खिमलगायत 82 जनाको नयाँ समितिको गठन गरियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here