स्थायी राजनैतिक समाधान नभएसम्म गोरामुमोले छैटौँ अनुसूचीलाई स्वीकार्ने

0
973

दार्जीलिङ, 18 अक्टोबरः केन्द्र सरकारले जीटीए विषय लिएर डाकेको वार्ता साथै बङ्गालका भाजपा नेतृत्वहरूको गोर्खाल्याण्डविरोधी वक्तव्यहरू हेरेर गोर्खा राष्ट्रिय मुक्ति मोर्चालाई पनि गोर्खाल्याण्डको गठन असम्भव लाग्न थालेको छ।

यस्तो स्थिति वर्तमानमा मात्रै होइन विगतमा पनि थियो साथै भविष्यमा पनि यस्तै स्थिति रहने गोरामुमोको मत छ।

गोर्खाल्याण्ड राज्य गठन असम्भव रहेको विषय लिएर एक प्रेस बयान जारी गर्दै गोरामुमो खरसाङ शाखाका प्रचार प्रसार सचिव भुपेन्द्र गुरूङले भनेका छन्, ‘बङ्गाल भाजपाका नेतृत्वहरूद्वारा दिइएको बङ्गाल विभाजन हुँदैन भन्ने बयान साथै केन्द्रले बारम्बार जीटीए विषय लिएर डाकेका त्रिपक्षीय बैठकहरूलाई नियाल्दा सोझै गोर्खाल्याण्ड हुने सम्भावना छैन।’

उनले थप भनेका छन्, ‘सोझै गोर्खाल्याण्ड हुन नसक्ने स्थिति र सम्भावना वर्तमानको मात्र होइन, विगतमा पनि यस्तै थियो अनि भविष्यमा पनि गोर्खाल्याण्ड गठनमा यस्तै स्थिति यथावत नै रहनेछ। कारण केन्द्रमा कुनै पनि दलले सरकार गठन गरोस्, ती सत्तासीन दलले बङ्गालको सत्तामाथि आँखा गाड़ेकै हुन्छ, त्यसरी नै बङ्गालको सत्तामा पनि कुनै दल आए, ती दलहरूले पनि गोर्खाल्याण्डको विरोध गर्नु उनीहरूको राजधर्म नै सम्झन्छन्।’

गुरुङका अनुसार पहाड़को राजनीतिमा विगतदेखि भविष्यमा पनि यथार्थ भनेको यही नै हो। यो कुरा नै गोरामुमोले पहिलादेखि भन्दै आएको हो।

‘यसपाली पनि पहाड़को स्थायी राजनीतिक समाधान हुन नसके छैटौं अनुसूचीभन्दा सानो व्यवस्था गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले मान्दैन भनेको हो। यो अड़ानको अर्थ गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले जबसम्म स्थायी राजनीतिक समाधान हुँदैन, तबसम्म छैटौं अनुसूचीसम्मको व्यवस्थालाई स्वीकार गर्नेछ’, भुपेन्द्र गुरुङले भनेका छन्।

छैटौं अनुसूचीले नै गोर्खा जाति र गोर्खा जातिको संस्कृति, संस्कार, भाषा, वेशभूषा, खानपिन आदिलाई सुरक्षा प्रदान गर्ने उनको भनाइ छ।

गोरामुमो नेता गुरुङले थप भनेका छन्, ‘गोर्खा जातिले आफ्नो भूमिको अधिकार पाउनेछ, भूमिको अधिकारबाट पर्जा-पट्टाको समस्या समाधान हुनेछ। पूर्ण वित्तीय अधिकार पाएर छैटौं अनुसूचीको व्यवस्थामा पहाड़बाट सङ्कलन हुने राजस्वमाथि अधिकार हुनेछ। यसले पहाड़मा व्याप्त बेरोजगारी समस्याको धेरै मात्रामा समाधान गर्नेछ। हाम्रो हातमा कानून बनाउने क्षमता भएको विधानपालिका हुनेछ। छैटौं अनुसूचीले हामीलाई बङ्गालदेखि प्रशासनिकरूपमा अलग गराउनेछ।’

उनका अनुसार यसैको माध्यमद्वारा गोर्खा जातिको सपना पनि साकार हुनेछ।

यसै सन्दर्भमा गत केही दिनअघि विनय तामाङपन्थी गोजमुमोका प्रवक्ताले बङ्गाल भाजपाका नेताहरूले बङ्गाल विभाजन हुँदैन भन्दा गोरामुमो अध्यक्ष मन घिसिङ किन बोल्दैनन्? भन्ने प्रश्नको उत्तर दिँदै गोरामुमो खरसाङ ब्राञ्च कमिटीका प्रचार प्रसार सचिव भुपेन्द्र गुरुङले भनेका छन्, ‘गोरामुमो अध्यक्ष मन घिसिङ र गोरामुमोले जता पायो, त्यतै बोल्नुमा विश्वास गर्दैन। मन घिसिङ र गोरामुमोले सत्कर्ममा विश्वास राख्छ।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here