कोलकाता, 31 जनवरी : भाजपा नेता मुकुल रायले बङ्गालमा शासक दल तृणमूल कङ्ग्रेसले लोकतन्त्रको हत्या गरेको आरोप लगाए।
भाजपा अध्यक्ष अमित शाहको सभामा सामेल हुन गएका पार्टी कार्यकर्ताहरूलाई तृणमूल कार्यकर्ताहरूद्वारा कुटपिट तथा वाहनहरू जलाइएको घटनाको निन्दा गर्दै मुकुलले यस्तो आरोप लगाएका हुन्।
यो घटनाको विरोध गर्दै हिजो भाजपाले ऱ्याली निकाल्यो। यो ऱ्यालीलाई उनले नै नेतृत्व गरेका थिए।
मुकुलले भने, “एक राष्ट्रिय दल एवं विश्वको सबैभन्दा ठूलो पार्टीका अध्यक्षलाई सभा गर्न दिइरहेको छैन। बङ्गालमा लोकतन्त्र छैन। हाम्रा पार्टी अध्यक्षको सभामा सहभागी हुन आउनेहरूमाथि हमला भइरहेको छ। यी सबै लोकन्त्रको मजाक हो।”
बङ्गालमा भाजपाको बढ़्दो जनाधारको कारण तृणमूल कङ्ग्रेस हताश भइरहेको यी दिग्गज नेताले दाबी गरे। भाजपाको बढ़्दो जनाधारलाई रोक्न तृणमूल कङ्ग्रेसले हिंसाको राजनीति गरिरहेको उनको आरोप थियो।
“ममताको सपना देशको प्रधानमन्त्री बन्ने छ। यद्यपि उनको सपना कहिले पूरा हुनेछैन। देश-विदेशमा भारतको नाम बुलन्द गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीप्रति देशका जनतामा धेरै आस्था छ। यो कुरा बङ्गालका मानिसहरूलाई थाहा छ”, उनले थपे, “बङ्गालका जनता तृणमूल सरकारबाट छुटकारा चाहन्छन्। ममताले यो कुरा बुझिसकेकी छन्। यसैले उनले राज्यमा हिंसाको राजनीति गरिरहेकी छन्। उनले छानी छानी भाजपा कार्यकर्ताहरूलाई पक्राउ गरिरहेकी छन्।”