खरसाङ, 19 अक्टोबरः नरबुङ वाहन दुर्घटनामा परी ज्यान गुमाउनेहरूका सङ्ख्या बढ़ेर 3 पुगेको छ।
हिजो राति सिलगढ़ीको आनन्दलोक नर्सिङ होममा उपचाराधीन अवस्थामा अश्विन तामाङ (16)-को मृत्यु भएपछि यस दुर्घटनामा परी ज्यान गुमाउनेहरूको सङ्ख्या 3 पुगेको हो।
यसभन्दा अघि सूरज थापा (25) र डिपल थापा (22)-को मृत्यु भएको हो।
अर्कोतिर, घाइते दुइजनाको अवस्था भने अत्यन्त चिन्ताजनक रहेको बताइएको छ।
उल्लेखनीय छ, हिजो नजिक गिताङ्गे चियाकमानका फुटबल खेलेर नरबुङ फर्किरहेको समय करिब 6 बजे डब्ल्यूबी 73 सी 1405 नम्बरको पिकअप भ्यान दुर्घटना भएको थियो।
दुर्घटनामा परेका पिकअप भ्यानमा फुटबल खेलाड़ीलगायत अन्य गरी करिब 20 जना सवार रहेको बताइएको छ।
यस दुर्घटनामा परी राजा प्रधान (25), सिद्धार्थ प्रधान (19), विधानचन्द्र देवान (16) र नितेश छेत्री (22) गम्भीर घाइते भएका छन्।
त्यसैगरी निश्चल प्रधान (28), निशल खवास (30), काव्य सुब्बा (15), निखिल प्रधान (17), सुलभ थापा (18), सोनल सुब्बा (17), बुद्धिमान सुब्बा (24), अमन सुब्बा (19), सुजत सुब्बा (15), सकिल प्रधान (22), सचिन राई (25) पनि घाइते भएका छन्।
सामान्य घाइते भएका मुन्नाहाङ सुब्बा (15) र बिक्रान्त थापा (19)-लाई भने सुकना अस्पतालमा प्राथमिक उपचारपछि छुट्टी दिइएको छ।
अर्कोतिर यस दुर्घटनाबारे जानकारी लिन तथा पीड़ित परिवारहरूलाई सहयोग पुऱ्याउनका लागि जीटीए बीओएका अध्यक्ष अनित थापा आज बिहान सुकना थाना पुगेका थिए।
जानकारीका अनुसार उनी घाइतेहरूलाई भेटेर स्वास्थ्य अवस्था र उपचारबारे जानकारी लिनका लागि नर्सिङहरूमा पनि जानेछन्।