विमलपन्थी गोजमुमो र गृह मन्त्रालयका सचिवबीच बैठक निर्धारित, कर्णल रमेश आलेले भने- 5 अक्टोबरमा हुनेछ बैठक

0
1073
गोजमुमो केन्द्रिय नेता रमेश आले (फाइल फोटो)। 

गान्तोक, 3 सेप्टेम्बर :  विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) र गृह मन्त्रालयका सचिवबीच बैठक निश्चित भएको केन्द्रिय नेता एवं जीटीएका पूर्व उपप्रमुख कर्णल रमेश आलेले जानकारी दिएका छन्।
कर्णल आलेका अनुसार यो बैठक आगामी 5 अक्टोबरको दिन अपरान्ह 3 बजी नर्थ ब्लकमा हुनेछ। बैठकमा गृहमन्त्रालयका अन्य अधिकारीहरू पनि उपस्थित रहनेछन्। उनका अनुसार यो बैठकमा दार्जीलिङ सम्बन्धित विभिन्न मुद्दामाथि छलफल हुनेछ, जसका लागि मोर्चा टोलीले तयारी गरिसकेको छ।
उल्लेखनीय छ, पछिल्लो 21 अगस्तको दिन कर्णल रमेश आलेकै नेतृत्व तथा दार्जीलिङका सांसद एसएस अहलुवालियाको उपस्थितिमा विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चाका केन्द्रिय नेतृत्वहरूको एक शीर्ष टोलीले केन्द्रिय गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरी दार्जीलिङको समस्या समाधानका लागि चाँड़ोभन्दा चाँड़ो बैठक डाक्ने अनुरोध गरेको थियो। बैठकलाई लिएर गृहमन्त्री राजनाथ सिंह सकारात्मक देखिएको त्यसबेला उक्त मोर्चा टोलीले दाबी गरेको थियो।
5 अक्टोबरमा हुने बैठकमा उपस्थित हुने मोर्चा टोलीलाई रमेश आलेले प्रतिनिधित्व गर्नेछन्, जुन टोलीमा पार्टी प्रमुख विमल गुरुङ र महासचिव रोशन गिरी रहनेछैनन्। यता जनसंवादसँग बोल्दै कर्णल आलेले बताएअनुसार टोलीमा 8 जना रहनेछन्। गहन छलफल गरी 8 जनाको विशेषज्ञ टोली बनाइएको हो। उनका अनुसार धेरै लामो समयपछि गृहमन्त्रालयले बैठकमा बोलाएकोले  यो मौका खेरो नफाल्नका लागि मोर्चा टोली पूर्ण तयारीमा छ। बैठकमा विविध मुद्दा उठान हुने सम्भावना रहे तापनि मोर्चा टोलीले छुट्टै राज्य गोर्खाल्याण्ड र दार्जीलिङ पहाड़मा बङ्गाल सरकारको तर्फबाट गरिँदै आएको अन्याय-अत्याचार दुई प्रमुख मुद्दा हुने आलेको भनाइ छ।
उनले थप बताएअनुसार, टोलीले तयारीस्वरूप दार्जीलिङमा राज्य प्रायोजित पुलिस प्रशासनको आतङ्क, साधारण मानिसहरूमाथि भइरहेको अन्याय-अत्याचार, अभिव्यक्तिको स्वतन्त्रमाथि बन्देज आदिलाई लिएर दस्तावेज नै तयार गरेको छ। बैठकमा हाम्रो पहिलो मुद्दा गोर्खाल्याण्ड नै हुनेछ, हामी यसलाई लिएर प्रतिबद्ध र सङ्कल्पित छौं”, उनले भने।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here