गोर्खा समुदाय अब भाजपाको शब्दखेलमा पर्नेछैनः केशवराज पोख्रेल

0
1219
(फाइल फोटो)

दार्जीलिङ, 20 अक्टोबरः ‘अब गोर्खा समुदाय भारतीय जनता पार्टीका शीर्ष नेतृत्वहरूको शब्दखेलमा पर्नेछैन। यसैले अब गोर्खा समुदायले पनि भाजपालाई दिनुहोस्, र लैजानुहोस् भन्नेछ’ हिजो भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डाले सिलगढ़ीमा दिएको एक वक्तव्यमाथि प्रतिक्रिया व्यक्त गर्दै विनय तामाङपन्थी गोजमुमो प्रवक्ता केशवराज पोख्रेलले यसो भनेका हुन्।

उनले भनेका छन्, ‘भाजपा अध्यक्ष जेपी नड्डाले गोर्खा समुदायका मुद्दा विषय लिएर केवल 30 सेकेण्डको भाषण दिए, त्यति भाषणमा नै उनले धेरै लामो समयदेखि उठ्दै आइरहेको गोर्खा जातिको समस्या समाधानको आश्वासन दिए। नड्डाले आफ्नो भाषणमा भारतीय जनता पार्टी गोर्खा जातिको स्थायी राजनैतिक समाधानसँगै 11 जात-गोष्ठीलाई जनजातिको मर्यादा प्रदान गर्न प्रतिबद्ध छ भन्ने बयान दिएका थिए।’

पोख्रेलले थप भनेका छन्, ‘भाजपा अध्यक्ष नड्डाले प्रयोग गरेका शब्दहरू मीठा अनि सकारात्मक छन्। कटिबद्ध, प्रतिबद्ध, सङ्कल्प पत्र, काम गर्नेछौँ, पूर्ण हुनेछ जस्ता शब्दहरूको प्रयोग गरेर उनले गोर्खा समुदायलाई फेरि मक्ख पार्ने प्रयास गरे। तर, गोर्खाहरूको विश्वास जित्नु हो भने अब आश्वासनको खेलमा होइन, शब्दजालमा होइन, तर काम कहाँ अनि कता पुग्यो भनेर जवाब दिनुपर्छ। तब मात्रै गोर्खा समुदायले भाजपा नेताहरूको मीठा आश्वासनहरूमा विश्वास गर्नेछ।’

उनका अनुसार गोर्खा समुदाय भाजपा नेताहरूको शब्द खेलसँग पूर्णरूपले अवगत छ। त्यसैले अब गोर्खा समुदायले पनि पहिला दिनुहोस्, त्यसपछि भोट लानुहोस् भन्नेछ।

दशैँको शुभ अवसरमा भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डाबाट दार्जीलिङ पहाड़ले पाएको मीठो दशैंको उपहार, ‘पूरा करेंगे’-को जवाब गोर्खा समुदायको तर्फबाट पनि ‘पूरा कीजिए’ और ‘हम देखेंगे’ हुने पनि केशव राज पोख्रेलले बताएका छन्।

‘भाजपाका पूर्व राष्ट्रिय अध्यक्ष राजनाथ सिंहदेखि नितिन गड्करी, अमित शाह हुँदै अहिलेका नड्डाले गोर्खालाई दिएको भनेको आश्वासन मात्रै हो। गोर्खा पनि आश्वासन थापेर रमाउनुमा खप्पिस भइसकेको छ’, उनले थप भनेका छन्, ‘प्रधानमन्त्री नरेन्द्र मोदीको गोर्खाको सपना मेरो पनि सपना विषयमा शुरूमा लगभग मिनट लगाएर बोलिएको वा भाषण दिएको सुनिन्थ्यो, तर अहिले गोर्खाको सपना अनि मुद्दालाई ३० सेकेण्डमा नै बोलेर समाप्त गर्न थालिएको छ।’

उनले अझ भनेका छन्, ‘विगतका दिनहरूमा गोर्खाल्याण्ड विषयमाथि वार्ता हुँदा सेक्रेटरी तहमा हुन्थ्यो, तर त्यो स्तर पनि घटेर जिल्लापालहरूलाई राखेर गोर्खा जातिको मुद्दामाथि विचार हुने गरेको छ। यसैले अब जनताले भाजपाले गोर्खा जातिलाई र जातिका मुद्दालाई कति गहनता अनि गम्भीरता दिएको छ, त्यो बुझ्न आवश्यक छ। दार्जीलिङ पहाड़का जनताले भाजपाका यी कुराहरू राम्ररी बुझ्दैछन्।’

अर्कोतिर विनयपन्थी गोजमुमोका प्रवक्ता केशव राज पोख्रेलले भाजपासित गठबन्धन गर्ने पहाड़का नेताहरू पनि गोर्खा समुदायको मुद्दालाई फ्यातुलो बनाउनमा भाजपा जतिकै जिम्मेवार रहेको बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here