खरसाङ, 30 अक्टोबरः पछिल्ला केही दिनयता विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) सङ्गठित बनिरहेको छ।
विशेषगरी पार्टी प्रमुख विमल गुरुङ पहाड़ फर्किने सम्भावना चुलिएपछि कार्यकर्ताहरू सङ्गठित बन्न थालेका छन्।
उनीहरूले ठाउँ ठाउँमा सभाहरू गरी कमिटी गठन गर्नका साथै कमिटी गठनको कार्यलाई एकाएक गति दिएका छन्।
यसै क्रममा आज खरसाङको एक होटलमा सम्पन्न सभाबीच विमलपन्थी मोर्चाले खरसाङ टाउन कमिटी गठन गरेको छ।
नवगठित कमिटीमा अध्यक्ष सोनाम लामा, उपाध्यक्षद्वय राजु सेवा र विक्रम तामाङ, सचिव विकास तिरुवा, सहसचिवद्वय गोपाल खाती र कुमार छेत्री, कोषाध्यक्ष सहदेव मङ्ग्राती तथा सहकोषाध्यक्ष लगायत 20 जना कार्यकारी सदस्य चयन गरिएको छ।
दुई चरणमा सम्पन्न सभालाई खरसाङ महकुमा समितिका अध्यक्ष प्रदीप मगरले अध्यक्षता गरेका थिए।
यस अवसरमा केन्द्रिय समिति सहसचिव विमल दर्जी, केन्द्रिय समिति सदस्य शरण देवान, युमो खरसाङ महकुमा समिति संयोजक सत्यवन छेत्री, नारी मोर्चा अध्यक्ष शान्ति राईलगायत अन्यले सम्बोधन गरेका थिए।